फाइल तस्बिर
काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट मन्त्रीको नाम टुंग्याउने अधिकार पार्टी अध्यक्ष माधवकुमार नेपालले पाएका छन्।
बिहीबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकपछि अध्यक्ष नेपाल शीर्ष बैठकका लागि प्रधानमन्त्री बालुवाटार गएका छन्।
'अहिले २ बजे बालुवाटारमा शीर्ष नेताहरुको बैठक छ। त्यसले मन्त्रीहरुको नाम टुंगो लगाउँछ। माधव नेपालले त्यहीँ नै हाम्रो पार्टीबाट मन्त्री बन्नेको नाम दिनुहुन्छ। उहाँलाई हामीले अधिकार दिएका छौं', बैठकपछि विरोध खतिवडाले भने।
उनका अनुसार, बैठकमा मन्त्री बन्नेको नामको विषयमा छलफल भएन। उनले भने, 'संख्या र मन्त्रालयको विषयमा केही फेरबदल गर्नुपर्ने साथीहरुको भनाइ छ। सम्भव भयो भने फेरबदलपछि नाममा पनि केही तलमाथि हुनसक्छ। सामान्यतया आज उहाँले टुंग्याएर आउनुहुन्छ।'
असार २९ गते प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले आज मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन्।
मन्त्रालय भागबण्डाको विषयमा यसअघि नै गठबन्धनका दलहरुबीच भागबण्डा भइसकेको छ। सोही अनुसार माओवादी केन्द्रले मन्त्री बन्नेहरुको नाम सार्वजनिक गरिसकेको छ। जसपामा मन्त्रीहरुको नाम टुंग्याउने जिम्मा डा बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राईलाई दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।