काठमाडौं - नेपाली कांग्रेसको संस्थापनइतरमा आफ्नो पक्षको मन्त्री बनाउने विषयमा मतभेद देखिएको छ। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तेजुलाल चौधरीलाई मन्त्री बनाउन खोजेका छन्।
संस्थापनइतरका अर्का नेता प्रकाशमान सिंहले भने काठमाडौं १० बाट निर्वाचित राजन केसीलाई मन्त्री बनाउनु पर्ने अडान लिएका छन्।
संस्थापनइतरका नेताबीच नै आफ्नो पक्षबाट पठाउने नाममा मतान्तर भएपछि बिहीबार मन्त्रीहरुको शपथ हुने सम्भावना कम रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ।
प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले इतर खेमालाई तीन मन्त्रालय छुट्याएका छन्। पौडेल पक्षबाट महामन्त्री डा शशांक कोइरालाको समर्थनमा डा मीनेन्द्र रिजाल मन्त्री हुने निश्चित रहेको स्रोतको भनाइ छ। रिजाल प्रधानमन्त्री देउवाले समेत इच्छाएका व्यक्ति हुन्। रिजालको नाममा सहमति भएपनि पौडेल पक्षको भागमा परेको थप एक जनामा कुरा मिल्न सकेको छैन।
पार्टीको अर्को खेमाबाट मन्त्री चयन गर्नका लागि देउवाले बुधबार पदाधिकारी बैठक डाकेका थिए। पदाधिकारी बैठक अघि नेता सिंहले प्रधानमन्त्री देउवालाई भेटेका थिए। सिंहको जोड उनी पक्षीय केसीलाई मन्त्री बनाउनु रहेको छ।
देउवाले पार्टीका नेता कृष्णप्रसाद सिटौला पक्षलाई एक मन्त्री छुट्याउने भएका छन्। उक्त समूहबाट उमाकान्त चौधरी मन्त्री भन्ने भएका छन्।
कांग्रेसको संस्थापनइतर पक्ष र अन्य दलले मन्त्री हुनेको नाम बुझाएमा आज नै शपथ हुने बताइएको छ। मन्त्री हुनेको सूची आज आउन नसके भोलि मात्रै शपथ हुने बालुवाटार स्रोतले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।