काठमाडौं– गठबन्धन सरकारमा ४ मन्त्री पाएको जनता समाजवादी पार्टी (जसपा)मा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई बाहेक अन्य १८ जना सांसदहरु नै मन्त्रीका आकांक्षी देखिएका छन्।
नेताहरुका अनुसार अध्यक्ष उपेन्द्र यादव स्वयं मन्त्री बन्न इच्छुक छन्। तर, मन्त्री बनाउने कुनै निश्चित मापदण्ड छैन। जसका कारण मन्त्री छनौटको विषय पेचिलो बनेको जसपाका एक कार्यकारिणी समिति सदस्यले बताए।
असार २९ गते कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन हुँदा नै जसपाभित्र को मन्त्री बन्ने भनेर बहस सुरु भएको थियो। त्यतिबेला नै कार्यकारिणी समिति बैठकमा नेताहरुले आफू मन्त्रीको आकांक्षी भएको आशयसहित विचार राख्न थालिसकेका थिए।
राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएपछि महन्थ ठाकुरको नेतृत्वमा १३ सांसदले अलग्गै दल (लोकतान्त्रिक समाजवादी पार्टी) गठन गरे। जसपमै रहेका सांसदले मन्त्री नपाए पुन: दल विभाजन गर्ने भयका कारण जसपाले अध्यादेश खारेज नहुन्जेल सरकारमा मन्त्री नपठाउने अडान लिइरह्यो।
जसपाकै अडानका कारण सरकारले केही दिन अगाडि राष्ट्रपतिलाई राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजका लागि सिफारिस गर्यो र राष्ट्रपतिबाट खारेज पनि भयो।
सरकार गठन भएको ३ महिना पुग्नै लाग्दा गठबन्धनका दलहरुबीच मन्त्रालय भागबण्डाको सहमति जुटेको छ। गठबन्धनमा भएको सहमतिअनुसार जसपाले ४ वटा मन्त्री र १ राज्यमन्त्री पाउने टुंगो लागेको छ। तर, १ जना बाहेक पार्टीका सबै सांसद मन्त्रीका लागि आकांक्षी हुँदा अर्को समस्या थपिएको नेताहरुको भनाइ छ।
'कार्यकारिणी समिति बैठकमा मन्त्री छान्ने मापदण्ड बनाउनु पर्छ भन्दै नेताहरुले धारणा राख्छन्, तर अन्तिममा आफूलाई केन्द्रमा राखेर मन्त्री बन्नै पर्छ भन्ने खालको आशय आइहाल्छ,' १ जना कार्यकारिणी सदस्य भन्छन्।
कार्यकारिणी समितिको बैठकबाट निर्णय नहुने स्थिति उत्पन्न भएपछि मन्त्री छान्ने जिम्मा ३ जना शीर्ष नेता (अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई)लाई दिइएको ती कार्यकारिणी सदस्यले जानकारी दिए।
उपप्रधानमन्त्री पाउने अवस्था भए अध्यक्ष यादव आफैं सरकारमा सहभागी हुन चाहन्छन्। तर, पार्टीमा आकांक्षी धेरै भएका कारण उनी आफैंलाई मन्त्री बन्न त्यति सजिलो नभएको अर्का एक नेता बताउँछन्।
यादव निकट नेताहरुले भने उनलाई मन्त्री बन्नुपर्छ भनेर दबाब दिइरहेका छन्। 'अध्यक्ष यादव निकट नेताहरुले उहाँलाई तपाईंले पार्टीको नेतृत्व गरेर सरकारमा जानुपर्छ भनेर दबाब दिइरहनुभएको छ। त्यसैले अहिलेसम्म कसको नेतृत्वमा सरकारमा जाने भनेर पनि फिक्स भइसकेको छैन,' जसपका ती नेता भन्छन्।
कार्यकारिणी समितिको बैठकमा सबै समुदाय र भुगोलको प्रतिनिधित्व हुने गरी मन्त्री छनौट गरिनुपर्ने विषय पनि उठेको थियो। ३ शीर्ष नेतालाई समुदाय र भुगोलको प्रतिनिधित्व हुनेगरी नै मन्त्रीको सूची बनाउन भनिएको नेताहरुको भनाइ छ।
जसपबाट मन्त्री हुन १८ जना नै आकांक्षी रहेपनि ११ जना नेताहरु भने प्रमुख दाबेदार छन्। महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ, रामसहाय यादव, रेणु यादव, प्रदीप यादव, महोम्मद इस्तियाक राई मन्त्रीका प्रमुख दाबेदार हुन्। यस्तै, प्रमोद साह, मृगेन्द्रकुमार सिंह यादव, रेणुका गुरुङ, अमृता अग्रहरि, डा सुरेन्द्र यादव लगायत पनि मन्त्रीका लागि लबिइङमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।