काठमाडौं– क्रियाशील सदस्यता वितरणप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा अनशनरत राम गोविन्द रायलाई वीर अस्पताल पुर्याइएको छ। सानेपामा अनशनरत रायलाई प्रहरीले उपचारका लागि वीर अस्पताल पुर्याएको हो।
सर्लाही क्षेत्रनम्बर ४ को क्रियाशील सदस्यता विवादको समाधान माग गर्दै उनी ७ दिनदेखि सानेपामा आमरण अनशन बसिरहेका थिए।
सर्लाहीका कांग्रेस नेता लक्ष्मण रायले दुई गाडी प्रहरी आएर उनलाई उपचारको लागि वीर लगिएको बताए।
रौतहटका कार्यकर्ता पनि एक महिना अघिदेखि केन्द्रीय कार्यालयमा रिले अनशनमा छन्। अनशनरत कार्यकर्ताको विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षले सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएको थियो। प्रधानमन्त्री देउवाले अस्पताल लगेर उपचार गर्न भनेका थिए।
प्रधानमन्त्री देउवाकै निर्देशनानुसार प्रहरीले रायलाई सानेपाबाट वीर अस्पताल पुर्याएको हो।
वीर अस्पतालकी उपनिर्देशक डा अनुपमा कार्कीले रायको अहिले उपचार चलिरहेको जानकारी दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।