काठमाडौं- आफ्नो तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याउन बालुवाटारमा बसेको नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठकमा चर्काचर्की परेको छ। पौडेल पक्षले तीन मन्त्रालय मागेपछि बैठकमा 'लफडा' भएको हो।
कांग्रेसको भागमा अब बाँकी तीन मन्त्रालय छन्। त्यसमा सिटौला पक्षलाई एक छुट्याउनु पर्नेछ। तर, तीनवटै मन्त्रालय आफूहरूले पाउनुपर्ने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले माग राखेपछि विवाद भएको बताइन्छ।
त्यसपछि प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले तीन मन्त्रालय दिन नसक्ने अडान राखे। देउवाको अडानपछि देउवा र वरिष्ठ नेता पौडेलबीच चर्काचर्की परेको छ।
बैठकमा चर्काचर्की भएपछि वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला र नेता प्रकाशमानसिंह बैठक छाडेर हिँडेका छन्। यस्तै, रौतहट र सर्लाही बरहथवाको क्रियाशील सदस्यता विवादमा पनि पौडेल र सिंहको देउवासँग चर्काचर्की परेको बैठकमा सहभागी एक नेताले बताए।
यी दुवै ठाँउमा कांग्रेस कार्यकर्ता असनशनमा छन्। विवाद सकेर अनसन टुंगो लगाएर उनीहरुलाई दशैं मान्न दिनुपर्ने पौडेल र सिंहले माग राखेका थिए।
उनीहरूले चिसो छिँडीमा बसेर कार्यकर्ता बिरामी परे भन्दा देउवाले त्यसो भए अस्पताल लैजाने भने। तर, पौडेल, सिंह र कोइरालाले तत्काल प्रतिवाद गरे। उनीहरूले सभापतिले कार्यकर्ता मार्ने हो कि बचाउने? भन्दै प्रश्न गरे।
नेताहरूले राजनीतिक मुद्दा अस्पताल भर्ना गरेर समाधान हुन्छ? भनेपछि पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेललाई बोलाएर भोलिसम्म टुंगो लगाउन देउवाले भनेका छन्। उनले क्रियाशील सदस्यता विवाद समाधान समितिको बैठक बोलाएर विवाद समाधान गर्न भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।