काठमाडौं- नेपाली कांग्रेसको पदाधिकारी बैठक बालुवाटारमा सुरु भएको छ। आफ्नो दलबाट मन्त्री चयन गर्नका लागि पदाधिकारी बैठक बसिरहेको बताइएको छ।
पदाधिकारी बैठकअघि संस्थापनइतरका दुई पक्षका नेताहरुले छुट्टाछुट्टै छलफल गरेका थिए। वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षका नेताहरु उनको निवास बोहराटारमा छलफल गरी बालुवाटार पुगेका छन्। त्यस्तै नेता कृष्णप्रसाद सिटौलापक्षको बैठक जमलमा बसेको थियो।
कांग्रेसको भागमा रहेका तीन मन्त्रालयमा मन्त्री नियुक्त गर्न बाँकी छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पक्षबाट मन्त्री बनाइसकेका छन्। संस्थापनइतरका भागमा तीन मन्त्रालय परेका छन्। स्वास्थ्य तथा जनसंख्या, सञ्चार र महिला तथा बालबालिका मन्त्रालय कांग्रेसको भागमा परेको छ।
पौडेलपक्षबाट मिनेन्द्र रिजाल, सुजाता कोइराला, दिलेन्द्र बडु, तेजुलाल चौधरीलगायत मन्त्रीको चर्चामा छन्। सिटौलापक्षबाट उमाकान्त चौधरी मन्त्री हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।