काठमाडौं- अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह लामो समयसम्म गुमनाम जस्तै रहिन्। गत वर्ष नायक भुवन केसीले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी साम्राज्ञी त्यसयता न त फिल्ममा सक्रिय रुपमा देखिइन्, न म्युजिक भिडियोमा नै।
अब भने विस्तारै साम्राज्ञीले 'कमब्याक' गरेकी छिन्। केही समययता उनी म्युजिक भिडियोमा सक्रिय रुपमा काम गर्न थालेकी छन्। बुधबार पनि साम्राज्ञीले अभिनय गरेको ‘माया पिरिम’ बोलको गीत सार्वजनिक भएको छ।
विश्व नेपाली र अश्मिता परियारले गाएको गीतमा साम्राज्ञीसँगै एलिसा शर्मा, डेल्विस र राजको अभिनय रहेको छ। गीतको शब्द डीपी खनालले लेखेका छन् भने यसमा संगीत शंकर स्माइलको रहेको छ। गीतलाई श्यामश्वेत रसाइलीले मिक्सिङ गरेका छन् भने उदयराज पौडेलले यसलाई एरेन्ज गरेका छन्।
दिनेश धरशानधरी र यसोदा राईले संयुक्त रुपमा निर्माण गरेको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका छन्। भिडियोलाई उत्सव दाहालले खिचेका छन् भने यसको सम्पादन शिलोन लम्सालले गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।