काठमाडौं- सेयरबजार लगातार दोस्रो दिन उच्च अंकले बढेको छ। मंगलबारबाट सुधार आएको पुँजीबजार मापक परिसूचक (नेप्से) आज ६८.४७ अंकले बढेको छ।
यससँगै नेप्से २६८१.११ विन्दुमा उक्लिएको छ। आज चार अर्ब ५० करोड छ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जानकारी दिएको छ।
आज १२ वटा कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको थियो भने अन्य सात कम्पनीको मूल्य पनि बढेर सर्किट लेभल (१० प्रतिशत) नजिक पुगेको थियो।
आज कूल १८६ वटा कम्पनीका ८१ लाख ८९ हजार ८९० कित्ता सेयर जम्मा ५५ हजार ३८५ पटक खरिद-बिक्री भएका थिए। आज १८५ वटा कम्पनीको सेयर मूल्य बढ्दा पाँच वटाको नकारात्मक बनेको थियो।
यसैगरी ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १२.७२ अंकले बढेर ५०४.७४ विन्दुमा उक्लिएको छ। आज सबै उपसमूहको परिसूचक सकारात्मक बनेको छ। फाइनान्स र लघुवित्त उपसमूहको परिसूचक सबैभन्दा धेरै क्रमश: ६.५९ र ५.८० प्रतिशतले बढेको छ।
आज सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सेयर सबैभन्दा धेरै २३ करोड चार लाख ३७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सोही बैंकको सेयर सबैभन्दा धेरै पाँच लाख ७६ हजार ४२१ कित्ता कारोबार भएको छ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर सबैभन्दा धेरै दुई हजार ७८६ पटक किनबेच भएका थिए।
यो साताको सुरुआती दुई दिन आइतबार ५५.९३ अंक र सोमबार ६.६८ अंकले सेयर बजारमा गिरावट आएको थियो। तेस्रो दिन मंगलबार ओरलो यात्रामा ब्रेक लाग्दै ४१.८४ अंकले बढेको थियो।
सेयरबजार लगातार घटेपछि सोमबार नेपाल इन्भेस्टर्स फोरमले सरकारसमक्ष पाँच बुँदे माग अघि सारेको थियो। लगानीकर्ताले ८ खर्बभन्दा बढी गुमाइसक्दा पनि सरकार र सरोकारवाला निकाय मौन रहेकोप्रति फोरमले आपत्ति जनाएको थियो। यसैगरी नेपाल उद्योग वाणिज्य महासंघले पनि सोमबार नै विज्ञप्ति जारी गरी पुँजीबजारलाई प्रभावित पार्ने नीतिगत व्यवस्था संशोधन गर्न माग गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।