काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा भर्खरै सुरु भएको छ।
सरकारमा सहभागी हुने मन्त्रीका विषयमा निर्णय गर्न बैठक सुरु भएको एक नेताले बताए। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीले थप तीन मन्त्री र एक राज्य मन्त्री पाउने भएको छ।
जसमा शिक्षा, भूमि र श्रम तथा रोजगार मन्त्रालय माओवादी केन्द्रको भागमा परेको छ। ती मन्त्रालयका लागि कुन कुन नेतालाई पठाउने भन्ने विषयमा छलफल गर्न माओवादीले स्थायी समिति बैठक बोलाएको हो।
स्थायी समिति सदस्य देवेन्द्र पौडेल सरकारमा जाने पक्का पक्की जस्तै छ। अरु मन्त्री हुने चर्चामा महेश्वर गहतराज, सुदन किराती, अन्जना विशङखे र अमनलाल मोदीलगायतका नेता छन्।
आजको बैठकले सरकारमा जाने मन्त्रीको नाम फाइनल गरेपछि बिहीबार शपथ हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। माओवादी कोटाबाट यसअघि अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसाल मन्त्री भइसकेकी छिन्।
उता मन्त्री छान्ने विषयमा जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक माध्यान्ह १२ बजेदेखि जारी छ। पार्टी कार्यालय बालकुमारीमा जारी बैठकमा सरकारमा को को जाने भन्ने विषयमा छलफल चलिरहेको छ।
जसपाबाट चार मन्त्री र एक राज्य मन्त्री सरकारमा जाने बताइएको छ। जसपाको भागमा संघीय मामिला तथा सामान्य प्रशासन, कृषि, भौतिक पूर्वाधार र वन तथा वातावरण छन्। ती मन्त्रालयमा अध्यक्ष उपेन्द्रको नेतृत्वमा सरकारमा जान जसपाको तयारी छ। यादवसहित को को सरकारमा जाने भन्ने विषयमा कार्यकारिणी समितिले निर्णय गर्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।