काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको नेतृत्व कमजोर भएकै कारण कम्युनिस्टहरूको मनोबल बढेको बताएका छन्।
काठमाडौं महानगरमा निर्वाचित पदाधिकारीहरूको शुभकामना आदान प्रदान तथा परिचायत्मक कार्यक्रममा बोल्दै सिंहले १३ औं महाधिवेशनपछि कमजोर हातमा नेतृत्व गएकोले कम्युनिस्टको मनोबल बढेको सिंहले बताएका हुन्।
'कांग्रेस कमजोर भएकै कारण कम्युनिस्टहरूको मनोबल बढेको छ, पटक-पटक प्रतिनिधिसभा किन विघटन भयो?,’ सिंहले भने, ‘१३ औं महाधिवेशनपछि कांग्रेसले कमजोर नेतृत्व पायो। परिणामस्वरूप कम्युनिस्टको मनोबल बढ्दै गएको छ। १४ औं महाधिवेशनबाट डाइनामिक सभापति रोज्नुको विकल्प छैन।’
प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले विधान मिचेर विभागहरू गठन गरेको आरोप लगाउँदै उनले यस्तै अवस्था रहे केही समयपछि कांग्रेस कहाँ छ? भनेर खोज्नुपर्ने जिकिर गरे।
सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलपछि आफू वरिष्ठ रहेको बताउँदै उनले सभापति बन्न नहुने कारण देखाइदिन आग्रह गरेको उल्लेख गरेका छन्।
‘मैले शेरबहादुर दाइलाई भनिसकेको छु। पाँचपटक प्रधानमन्त्री भइसक्नु भएको छ, विभाजित कांग्रेस र अहिले गरी दुईपटक सभापति बनिसक्नुभएको छ। अब छोडि दिनुपर्यो। रामचन्द्र दाइलाई पनि भनिसकेको छु,’ सिंहले भने,‘काठमाडौंको भएकै कारण सभापति बन्न नपाउने? गणेशमानको छोरा हुँदामै सभापति बन्न पाइँदैन? सभापति बन्न नहुने उहाँहरूले कारण देखाइ दिनु पर्यो। गणेशमानको परिवारले सँधै त्यागमात्र गर्नुपर्ने?’
१३ औं महाधिवेशनमा आफूले वरिष्ठ नेता पौडेललाई सभापतिमा छोडिदिएको जिकिर गर्दै उनले यसपटक कुनै हालतमा पछि नहट्ने उल्लेख गरेका छन्। राजनीतिमा ५० वर्षको आफ्नो अनुभवको माध्यमबाट कांग्रेसलाई सबल बनाउन चाहेका उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।