काठमाडौं- सत्तारुढ गठबन्धनमा सहभागी चार दलबीच निकै ढिलोगरी हुनथालेको मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालय बाँडफाँटमा करिबकरिब सहमति जुटेको छ।
मंगलबार बसेको गठबन्धनका दलहरुको शीर्ष नेताको बैठकले यसमा सहमति जुटाएको हो। बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव सहभागी थिए। कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पनि बैठकमा सामेल गरिएको थियो।
बैठकपछि गठबन्धन आबद्ध दलहरुले पाउने मन्त्रालयको संख्या र मन्त्रालयको नाम लगभग टुंगिएको नेताहरुले बताएका छन्। उनीहरुले त्यहीअनुसार आ-आफ्नो दलभित्र मन्त्रीको नाम टुंगो लगाउने गृहकार्य पनि अघि बढाएका छन्।
नेपाल लाइभले प्राप्त गरेको विवरणअनुसार दलीय भागबण्डा अनुसार कांग्रेसले प्रधानमन्त्री र ६ मन्त्रालय पाउने भएको छ। यसअघि नै कांग्रेसबाट प्रधानमन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाँड, परराष्ट्रमन्त्री डा नारायण खड्का र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जिम्मेवारी पाइसकेका छन्। अब कांग्रेसले थप तीन मन्त्रालय पाउने भएको छ।
त्यस्तै, पाँच मन्त्रालय पाउने तय भएको माओवादी केन्द्रका पनि दुई मन्त्री यसअघि नै नियुक्त भइसकेका छन्। अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमा पम्फा भुसाल यसअघि नै मन्त्री भइसकेका छन्। माओवादीले पनि अब थप तीन मन्त्रालय पाउनेछ।
एकीकृत समाजवादी र जसपाले देउवा मन्त्रिपरिषद्मा चार-चार मन्त्रालय पाउने भएका छन्।
मंगलबार भएको सहमतिअनुसार गठबन्धनका चार दलले पाउने मन्त्रालयको विवरण यसप्रकार छः
नेपाली कांग्रेस
१. प्रधानमन्त्री
२. गृह
३. परराष्ट्र
४. स्वास्थ्य तथा जनसंख्या
५. सञ्चार तथा सूचना प्रविधि
६. महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण
७. युवा तथा खेलकुद
नेकपा (माओवादी केन्द्र)
१. अर्थ
२. ऊर्जा, जलस्रोत तथा सिँचाइ
३. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
४. श्रम तथा रोजगार
५. शिक्षा, विज्ञान तथा प्रविधि
नेकपा (एकीकृत समाजवादी)
१. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
२. रक्षा
३. सहरी विकास
४. कानुन तथा न्याय
जनता समाजवादी पार्टी
१. संघीय मामिला तथा सामान्य प्रशासन
२. कृषि
३. भौतिक पूर्वाधार तथा यातायात
४. वन तथा वातावरण
गठबन्धनका दलहरुबीच हाल दुईवटा मन्त्रालय प्रधानमन्त्रीसँगै राख्ने सहमति भएको छ। ती दुई मन्त्रालयमा एउटा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय रहने सहमति भएको छ। अर्को मन्त्रालयमा शिक्षा र खानेपानी तथा सरसफाइमध्ये एउटा हुने भनिए पनि शिक्षा माओवादीले लिने निश्चितजस्तै रहेकाले प्रधानमन्त्रीसँग रहने दोस्रो मन्त्रालय, खानेपानी हुने गठबन्धनका एक नेताले बताए। यी दुई मन्त्रालय कांग्रेससँगै रहने हुन् कि पछि फेरि अरु दलले पनि पाउन सक्छन् भन्ने प्रश्नमा ती नेताले भने, 'अहिले नै यसबारे भन्न सकिन्न, अर्थपूर्ण हिसाबले दुई मन्त्रालयमा मन्त्री रिक्त राखिएको हो।'
प्रधानमन्त्री देउवाले घटस्थापनाका दिन बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। यसअनुसार भएमा मन्त्रिपरिषद्मा प्रधानमन्त्री देउवासहित २० सदस्य पुग्ने छन्।
अहिले प्रधानमन्त्रीसँगै रहने दुई मन्त्रालयमा मन्त्री नियुक्त भएमा मन्त्रिपरिषद्मा २२ सदस्य पुग्ने छन्। कांग्रेसबाट पहिल्यै एकजना राज्यमन्त्री (स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ) रहेकाले त्यसबेला मन्त्रिपरिषद् २३ सदस्यीय हुनेछ। संविधानले मन्त्रिपरिषद् प्रधानमन्त्रीसहित २५ सदस्यीयभन्दा ठूलो बनाउन रोक लगाएकाले अब थप्न सकिने राज्यमन्त्री दुई जना मात्र हुनेछन्।
गठबन्धनका तीन घटक माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको जोड आन्तरिक भागबण्डा मिलाउन एक जना भए पनि राज्यमन्त्री बनाउनेमा छ। तर, तीनमध्ये दुई दलले मात्र राज्यमन्त्री बनाउन पाउने छन्। 'तीन दलमध्ये दुई दलले राज्यमन्त्री पाउने र एउटा दलले प्रतिनिधि सभाको उपसभामुख पाउने समझदारी हो, यसैगरी भागवण्डा मिल्छ होला,' गठबन्धनका ती नेताले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।