काठमाडौं- नेकपा (क्रान्तिकारी माओवादी) पार्टीका महासचिव मोहन वैद्य र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले हुँदै नभएका राजाको साथ खोज्न थालेका छन्। आफ्ना पछिल्ला अन्तर्वार्तामा दुई फरक-फरक कम्युनिस्ट पार्टीको नेतृत्वमा रहेका उनीहरुले राजाको साथ लिएर 'राष्ट्रिय स्वाधिनता जोगाउन' सकिने आशयको अभिव्यक्ति दिएका हुन्।
'योहो टेलिभिजन'सँगको कुराकानीमा वैद्यले संसदीय व्यवस्था मान्ने कांग्रेस र कम्युनिस्टबाट राष्ट्रिय स्वाधिनताको रक्षा हुन नसक्ने भन्दै एमसीसीको विरुद्ध क्रान्तिकारी कम्युनिस्ट र राजावादी एक ठाउँमा आउनुपर्ने बताएका हुन्। ‘आजको २१औं शताब्दीमा पुरानै किसिमको राजतन्त्र भनेर हुँदैन। राष्ट्रिय स्वाधिनताको निम्ति साँच्चिकै एक ठाउँमा आउनुपर्यो। लिपुलेक, लिम्पियाधुरा फर्काउने कि नफर्काउने? एमसीसी खारेज गर्ने कि नगर्ने? एक ठाउँमा आउनुपर्यो। अहिले एक ठाउँमा आउने स्थिति भएको छ। यदि राजावादीहरु सहकार्य गर्न आएमा पूर्वाग्रह राखिँदैन,’ वैद्यको भनाइ छ।
राजाले पनि आफ्नो पुरानै प्रवृत्ति दोहोर्याए सहकार्य नहुने उनको भनाइ छ। ‘राजाले फेरि राजतन्त्र ल्याउँछु भन्न थाल्नुभयो भने हुँदैन। म राजतन्त्र छोड्छु र नयाँ ढंगले जान्छु भनेपछि हामी त्यही पूर्वाग्रहमा किन बस्छौं? बस्दैनौं,’ उनले भने, ‘देशको साँच्चिकै रक्षा गर्ने हो भने संसद्वादी शक्तिहरुबाट हुँदैन। देशभक्त र क्रान्तिकारी कम्युनिस्ट शक्तिहरु मिलेर एक 'स्टेप' अघि बढौँ।’
वैद्यले 'राजा' वा उनको प्रतिनिधित्व गर्ने शक्तिहरुसँग कुन खालको साथ र सहकार्य खोजेका हुन् भन्नेचाहिँ प्रस्ट पारेका छैनन्। तर, राजतन्त्रको अन्त्य समेतको लागि लडिएको १० वर्षे 'जनयुद्ध'का शीर्षमध्येका एक नेताले राष्ट्रिय स्वाधिनताको अमूर्त लडाइँमा उनकै साथ खोजेको विषयलाई धेरैले आलोचना गरेका छन्।
अर्का नेता बिजुक्छे, जो देशभित्रका स-साना घटनाका सन्दर्भमा पनि बाह्य शक्तिसँग जोडेर अभिव्यक्ति दिन्छन्, उनले अन्तर्वार्तामा अहिलेको सरकार ‘अमेरिकी साम्राज्यवाद’ र ‘भारतीय विस्तारवाद’ले बनाएको आरोप लगाउँदै त्यसको ऋण तिर्न एमसीसी ल्याउन खोजिएको तर्क गरेका छन्। त्यसै सन्दर्भमा उनले 'राजा'को भूमिकाको खोजी गरेका हुन्।
'चुरो कुरो टिभी' च्यानलमा दिएको अन्तर्वार्तामा बिजुक्छे भन्छन्, ‘राजा र हामीहरु केको निम्ति संघर्ष गर्ने हो? अहिलेको सरकार एमसीसी ल्याउनका लागि अमेरिका र भारतले बनाएको संयुक्त सरकार हो। उनीहरुको विरोधमा अर्थात् मालिकको विरोधमा जान राजा तयार छन् कि छैनन्? उनीहरु गएपछि राजा फेरि जनताको जीवनसँग आउँछन् कि आउँदैनन्? त्यो भएमा सोच्न सकिन्छ।’
राजा जनताको जीवनशैली अपनाउन तयार भए सहकार्य गर्न सकिने बिजुक्छेको भनाइ छ।
नेपालका कम्युनिस्ट पार्टी तथा नेताहरुलाई तत्कालीन अवस्थामा बाध्यताले राजतन्त्रलाई स्वीकार गरेको भए पनि मूलतः गणतन्त्रवादी शक्तिको रुपमा चित्रित गरिन्थ्यो। तर, बिजुक्छेले भने संसारमा कहीँ पनि कम्युनिस्ट र राजाबीच भिडन्त नभएको पुष्टि गर्न खोजेका छन्। जबकि, गणतन्त्र प्राप्तीको निम्ति जनवैधता प्राप्त घटना मानिने दोस्रो जनआन्दोलनका उनी एक जना सहयात्री पनि हुन्। जनआन्दोलनका आयोजक तत्कालीन सात दल र माओवादीमध्ये एक दल उनी नेतृत्वको नेमकिपा पनि थियो।
यसरी राजतन्त्र फाल्न भएका दुई संघर्षमा सहभागी दुई नेताले एमसीसीको विषयलाई राष्ट्रिय स्वाधिनताको लडाइँसँग जोडेका छन्। माओवादी 'जनयुद्ध' र जनआन्दोलनबाट विस्थापित भइसकेका राजालाई एमसीसीको प्रतिरोधको नाममा शक्तिको रुपमा व्याख्या गर्ने र कुनै न कुनै अर्थमा स्वीकार गर्ने उनीहरुको भनाइ छ।
आफ्नो नेतृत्वबाट आएको अभिव्यक्तिको दुवै पार्टीका नेताले बचाउ गरेका छन्। क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सीपी गजुरेलले हुँदै नभएको राजासँग सहकार्यको प्रश्न नै नआउने बताए। ‘अहिले राजा नै छैनन्। राजा नभएपछि सहकार्य कोसँग गर्ने हो? एमसीसीका विरुद्ध देशभक्त शक्तिहरु एक ठाउँमा उभिनुपर्छ भन्ने छ,’ उनले नेपाल लाइभसँग भने, ‘राजासँग सहकार्य गर्ने कुरा मिल्दै नमिल्ने कुरा हो। किरण कमरेडले त्यसरी बोल्नुभएको छैन। उहाँले बोलेको कुरालाई तोडमोड गरिएको हुनसक्छ।’
यस विषयमा उनले विज्ञप्ति पनि निकालेका छन्। उनले अन्तर्वार्ताको सन्दर्भमा वैद्यको आलोचना गर्नेहरुप्रति आक्रोश व्यक्त गरेका छन्। 'यो लाञ्छना एमसीसीको विरोध, भारतीय विस्तारवादी शासकवर्गले अतिक्रमण गरेको लिपुलेक, कालापानी तथा लिम्पियाधुरा क्षेत्र नेपाललाई फिर्ता लगायतका राष्ट्रिय स्वाधिनतासँग सम्बन्धित विषयहरुमा केन्द्रित रही हाम्रो पार्टीले नेतृत्व गर्दै आएको देशभक्तिपूर्ण आन्दोलनबाट विक्षिप्त भएका अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादका दलालहरुको पराजित मानसिकताबाट उब्जिएको आक्रोशको अभिव्यक्ति हो,' मंगलबार जारी विज्ञप्तिमा भनिएको छ।
नेमकिपाका नेता प्रेम सुवालले राजतन्त्र ल्याउने विषयमा पार्टीमा कुनै छलफल नै नभएको दाबी गरे। ‘नेपालमा राजा नै छैनन्। नभएको राजा कहाँबाट ल्याउनुहुन्छ?,’ उनले नेपाल लाइभसँग भने, ‘देशमा राजालाई भूमिका दिनुपर्छ भन्ने कुरा सानामा लगाएको लुगा युवा भएपछि लगाउन नमिलेजस्तै हो।’
उनले आफ्ना पार्टी अध्यक्षले कुन प्रसङ्गमा के भनेको भन्ने विषयमा आफूलाई जानकारी नभएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।