काठमाडौं- न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओमा मागभन्दा १४ गुणा बढी सेयरका लागि आवेदन परेको छ।
मंगलबार साँझसम्ममा २३ लाख ५७ हजार १६६ आवेदकबाट दुई अर्ब ९४ करोड ७७ लाख ६५ हजार रुपैयाँ बराबरको दुई करोड ९४ लाख ७७ हजार ६५० कित्ताको लागि आवेदन परेको कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जानकारी दिएको छ। यसरी प्राप्त आवेदन सर्वसाधारणका लागि निष्काशन गरिएको २० लाख ९२ हजार ५०० कित्ताको १४.०९ गुणा बढी हो।
अब धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताको दरले गोलाप्रथामार्फत् सेयर वितरण गरिने बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जानकारी दिएको छ। त्यसअनुसार दुई लाख नौ हजार २५० आवेदकले न्यूनतम १० कित्ता सेयर पाउनेछन्।
कम्पनीले गत शुक्रबारदेखि सर्वसाधारणका लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको थियो। निष्काशन गरिएका कूल सेयरमध्ये दुई प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र पाँच प्रतिशत अर्थात् एक लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता सेयरमात्रै सर्वसाधरणका लागि आवेदन खुला गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।