काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय सदस्य राम कार्कीको नेतृत्वमा पूर्वराजदूतहरुलाई समेटेर विदेश विभाग बनाउने भएको छ। कूटनीतिक क्षेत्रमा अनुभव प्राप्त गरेका व्यक्तिलाई समेटेर विदेश विभाग गठन गरिने कार्कीले बताए।
‘हामीले पार्टीको विदेश विभाग गठन गर्ने तयारी गरेका छौं। त्यसमा माओवादी कोटाबाट राजदूत भइसकेका र कूटनीतिक क्षेत्रका व्यक्तिलाई समेट्नेछौं,’ कार्कीले भने, ‘कूटनीतिक क्षेत्रमा अनुभव प्राप्त व्यक्तिलाई पार्टीले विदेश विभागमा समेट्ने तयारी गरेको छ। विभागमा सदस्य हुने व्यक्ति प्रदेश कमिटी सदस्य सरहको हुनेछ।’
अहिले विदेश विभागमा बस्ने सदस्यहरुको नामावली संकलनको काम भइरहेको कार्कीले बताए। सबै नामावली संकलन गरेपछि कमिटीलाई पूर्णता दिइने उनले बताए।
माओवादीले विदेश विभागमा समेट्न लागेका व्यक्तिहरुमा चीनका लागि पूर्वनेपाली राजदूत लीलामणि पौडेल र महेश मास्केसमेत रहेका छन्। त्यसैगरी लक्की शेर्पा, ऋषिराम अधिकारी, यदुनाथ लम्साल, राममणि पोखरेल, पदम सुन्दास, महेन्द्र सिंह लगायतलाई विभागमा समेट्ने कार्कीले बताए।
माओवादी कोटाबाट राजदूत भएका सबैलाई विभाग समेट्ने भएको छ। जोखबहादुर महरा, ओम शर्मा, विमल अधिकारी, रुपक सापकोटा, प्रमोद जैसवाल, सुनिल पौडेल, अमन श्रेष्ठ, प्रदीप परियार, इन्द्र भट्टराई, कल्याणी शाह, सुदन किराती, प्रकाशबाबु पौडेल, एलबी थापा, रविमोहन कोपिला,टीबी पाठक, पुष्प न्यौपाने, यङ्कनाथ अर्याल, बलु गैरे, शिवसिंह ओली लगायतलाई विभागमा सदस्य बनाउने तयारी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।