काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार निर्माण भएको ८७ दिनपछि मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। बालुवाटारमा आज (मंगलबार) बसेको सत्तारुढ गठबन्धनको शीर्ष नेताहरुको बैठकमा असोज २१ गते मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको हो।
‘आज नै मन्त्रिपरिषद्लाई विस्तार गरौं भन्ने थियो, तर प्रधानमन्त्रीज्यूले असोज २१ गते घटनास्थापनाको दिन पनि भएकाले सोही दिन गरौं भन्नुभयो,’ गठबन्धन दलका एक नेताले भने,‘अब त्यसै दिन मन्त्रिपरिषद् विस्तार हुन्छ।’
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं सांसद मेटमणी चौधरीले पनि असोज २१ गते नै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको नेपाल लाइभलाई जानकारी दिए। उनले सोही दिन नियुक्त हुने मन्त्रीहरुको सपथ हुने बताए।
चौधरी पनि एकीकृत समाजवादीको तर्फबाट मन्त्री हुन लागेका छन्।
सर्वोच्च अदालतले संसद पुन:स्थापना हुने फैसलासहित जारी गरेको परमादेशपछि असार २९ गते कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका थिए।
उनले सोही दिन आफ्नो पार्टीका बालकृष्ण खाणलाई गृह र ज्ञानेन्द्र बहादुर कार्कीलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्री नियुक्त गरेका थिए। यस्तै, माओवादी केन्द्रका जनार्दन शर्मा अर्थ र पम्फा भुसाल उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री नियुक्त भएकी थिइन्।
त्यसपछि देउवाले कांग्रेसबाटै उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री र नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।