काठमाडौं– सत्तारुढ गठबन्धनका दलहरुबीच मन्त्रालय बाँडफाँटमा करिबकरिब सहमति जुटेको छ। मंगलबार पनि गठबन्धनका दलहरुको बैठक बसेको थियो। सो बैठकपछि गठबन्धन आबद्ध दलहरुले पाउने मन्त्रालयको संख्या र मन्त्रालयको नाम लगभग टुंगिएको नेताहरुको भनाइ छ।
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले अब सञ्चार तथा सूचना प्रविधि, स्वास्थ्य तथा जनसंख्या र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पाउने सहमति जुटेको प्रधानमन्त्री शेरबहादुर देउवा निकट एक नेताले बताए।
कांग्रेसको तर्फबाट यसअघि नै प्रधानमन्त्री, तीन मन्त्री र एक राज्यमन्त्री बनिसकेका छन्। सो पार्टीबाट प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाण, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, परराष्ट्रमन्त्री डा नारायण खड्का र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ बनेका हुन्।
त्यस्तै, माओवादी केन्द्रबाट दुई मन्त्रीहरु नियुक्त भएका छन्। असार २९ मै पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ र जनार्दन शर्माले अर्थ मन्त्रालयको जिम्मेवारी पाएक थिए।
गठबन्धनका दलहरुबीच मंगलबार भएको छलफलबाट कांग्रेसले समग्रमा ६ वटा र अन्य तीन दलले ५–५ वटा मन्त्रालय पाउने सहमति भएको नेताहरुको भनाइ छ।
गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेकोमा आलोचना भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।