काठमाडौं– बंगलादेशको ढाका वुमेन्स् प्रिमियर डिभिजन क्रिकेट लिगमा हाल ४ नेपाली महिला क्रिकेटर खेलिरहेका छन्। लिगमा महिला राष्ट्रिय टिमकी कप्तान रुबिना क्षेत्री बेलबासे, आरती बिडारी, नेरी थापा र अस्मिना कर्माचार्य समावेश छन्।
आरती, अस्मिना र नेरी थापाले हिल्लोल जुबो संघबाट खेलिरहेका छन्। रुबिना रुपाली बैंक क्रिडा परिषद्को टिममा छिन्। लिगमा बंगलादेशका ९ क्लबको सहभागिता छ। ५० ओभरको यो प्रतियोगिता अन्तर्राष्ट्रिय स्तरको हो। १८ सेप्टेम्बरदेखि सुरु भएको लिग १३ अक्टोबरसम्म चल्नेछ।
नेपालका तीन खेलाडी सहभागी हिल्लोलले हालसम्म तीन खेल खेलेको छ। क्लबले तीन वटै खेल हारिसकेको छ। हिल्लोलबाट नेरीले तीन वटै खेल खेलेकी छिन्। उनले तीन खेलमा टिमका लागि सर्वाधिक ३० रन बनाउनुका साथै २ विकेट लिइसकेकी छिन्।
अस्मिनाले २ तथा आरतीले १ खेलमा अवसर पाएका छन्। यो लिगमा एउटा खेलमा २ विदेशी खेलाडीले मात्र खेल्न पाउने नियम छ। जसका कारण नेरी, आरती र अस्मिनाले एकै पल्ट खेल्न पाएका छैनन्।
रुबिना समावेश रुपाली क्लबले तीन मध्ये तीनै खेल जितेको छ। जसमा रुबिनाले दुई खेल खेलेकी छिन्। उनले दुवै खेलमा बलिङको अवसर पाए पनि ब्याटिङको अवसर जुरेको छैन्। रुबिनाको टिममा बंगलादेशबाट विश्व महिला क्रिकेट खेलेका ४ खेलाडी समावेश छन्। जसमा अलराउन्डर साथिरा जाकिर जेसी पनि संलग्न छिन्। जसीकै पहलमा ४ जनै नेपाली खेलाडी ढाका प्रिमियर लिग खेल्न गएका हुन्।
आरती, नेरी र अस्मिनाले आतेजाते, खाने–बस्ने र किट्स सुविधा पाएका छन्। रुबिनाले प्रति खेल भत्ता बापत १० हजार रुपैयाँ लिएकी छिन्।
नेपालमा महिला क्रिकेटको गतिविधि शुन्य भएकाले अनुभवका लागि बंगलादेश गएको आरतीले नेपाल लाइभलाई टेलिफोनबाट बताइन्।
‘हामीलाई अनुभव चाहिएको थियो,’ उनले भनिन्, ‘नेपालमा बसेर के गर्नु? बरु यहाँ आए खेल्न त पाइन्छ भनेर आएको हौं।’
४ जनै नेपाली महिला खेलाडीले दशैँमा नेपाल फर्किनुको सट्टा बंगलादेशमै क्रिकेट खेलेका थिए। उनीहरुको अनुभव छ, महिला क्रिकेटरको फिटनेस निकै राम्रो छ।
‘यहाँ स्पिनरलाई बढी प्राथमिकता दिइन्छ। महिला क्रिकेटरले खेलेर बाँच्न सक्ने स्थिति पनि छ,’ आरतीले भनिन्।
बंगलादेशकी क्रिकेटर साथिरा जाकिर जेसीले २ महिनाअघि ढाका प्रिमियर लिग खेल्न नेपाली खेलाडीलाई निमन्त्रणा पठाएकी थिइन्।
’एसिसी लेभल २ प्रशिक्षण कोर्ष गर्दा जेसीसँग चिनजान भएको थियो,’ आरतीले भनिन्, ‘अहिले उनीमार्फत नै बंगलादेश आएका हौं।’
आरती ‘राइजिङ क्रिकेट फर वुमन (आरसिडब्लु)’ की अध्यक्ष पनि हुन्।
क्लबको पहलमा गत महिना भारतको नयाँ दिल्लीमा नेपाली क्रिकेटरलाई प्रशिक्षण गराइएको थियो। भारत गएका २ बाहेक अन्य खेलाडीको सम्पूर्ण खर्च आरसिडब्लुले गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।