काठमाडौं– निकै ढिलो गरी हुन लागेको मन्त्रिपरिषद् विस्तारका लागि सत्तारुढ गठबन्धन भित्र मन्त्रालय भागबण्डामा 'लगभग' सहमति जुटेको छ।
मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा मन्त्रालय भागबण्डाको विषय सहमति नजिक पुगेको हो। बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव सहभागी थिए।
बैठकमा कुन दलको भागमा कुन–कुन मन्त्रालय हुने भन्नेबारे सहमति जुटेको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले बताए। एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले पनि मन्त्रालयबारे प्रारम्भिक सहमति भएको र अब आन्तरिक बैठकपछि त्यसलाई पूर्णता दिइने तयारी भएको बताए।
गठबन्धनको बैठकपछि ४ दल आन्तरिक छलफलमा जुटेका छन्। आ-आफ्नो दलभित्र मन्त्री बन्नेहरुको सूची टुंगो लागेपछि फेरि गठबन्धनको बैठक बस्ने र त्यसपछि मन्त्रिपरिषद् विस्तार हुने कांग्रेसका एक नेताले बताए।
'हामी अहिले बैठकमा छौं, मन्त्रीको नाम फाइनल गर्दैछौं', जसपाका एक नेताले भने।
खासगरी एकीकृत समाजवादी र जसपाले दाबी गरेका केही मन्त्रालयमा टुंगो लाग्न बाँकी रहेकाले आन्तरिक छलफल भइरहेको माओवादी केन्द्रका एक नेताले बताए।
देउवा नेतृत्वको मन्त्रिपरिषद्मा अहिले कांग्रेसबाट ३ मन्त्री र १ राज्यमन्त्री छन्। त्यस्तै, माओवादी केन्द्रबाट २ मन्त्री छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।