बिर्तामोड- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले महाधिवेशन राप्रपाका लागि पुनर्जागरण भएको बताउँदै महाधिवेशनलगत्तै पार्टी आन्दोलनमा होमिने बताएका छन्।
पूर्वी नेपालको भ्रमणका क्रममा मंगलबार बिर्तामोड पुगेका थापाले नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीको असफलता, अदूरदर्शिता र अकर्मण्यताको कारण मुलुक संकटग्रस्त भएको टिप्पणी गरे।
कांग्रेस र कम्युनिस्टका कारण भ्रष्टाचारले देशलाई थला पारेको थापाले बताए। धर्मपरिवर्तन, वेरोजगारी समस्या समाधान नगरे मुलुक थप बर्बादीतर्फ धकेलिने थापाको टिप्पणी छ।
केन्द्रमा पार्टी एकतापछि तल्लो तहसम्म एकताको सन्देश पुर्याउन नसकिएको भन्दै थापाले अब नयाँ उत्साह र ऊर्जा दिनका लागि सक्रियता र गतिशीलता जरुरी भएको बताए।
पार्टी सञ्चालनका क्रममा केही त्रुटि र कमजोरी भएको स्वीकार्दै थापाले आगामी दिनमा विगतका कमजोरी नदोहोर्याउने प्रतिवद्धता जनाए। मुलुकको राष्ट्रिय राजनीतिमा राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने आफ्नो योजनालाई सबैको साथ सहयोग लिएर पूरा गराई छाड्ने दृढता समेत व्यक्त गरे।
निष्ठा, सिद्धान्त र आदर्शको राजनीति अहिलेको आवश्यकता भएको चर्चा गर्दै थापाले राष्ट्रिय स्वाधिनताको निमित्त राष्ट्रवादी देशभक्त शक्तिहरु एक ठाउँमा उभिनु पर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।