काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले राजनीतिलाई विकास र आर्थिक गतिविधिसँग जोड्नुपर्ने बताएका छन्। दोधारा चाँदनीमा सोमबार नेपाली कांग्रेसको निवर्तमान नगर समितिको सम्मान एवं परिचयात्मक कार्यक्रममा उनले चुनाव जित्नका लागि मात्रै राजनीति गर्नुनहुनेमा जोड दिए।
राजनीतिलाई देशको समृद्धिसँग जोड्नुपर्ने उनको भनाइ थियो। ‘कांग्रेस हार्दा विकास हार्दोरहेछ तपाईंहरुले देखिसक्नुभयो, हामी हारेकामा चिन्ता छैन । विकास हारेकामा चिन्ता छ,’ उनले भने।
दोधारा चाँदनीका जनतासमक्ष गरेका अधिकांश बाचा पुरागरेको उनको भनाइ थियो। ‘जुन प्रतिबद्धता गरेका थियौँ, त्यो पूरा गरेर देखाएका छौँ,’ उनले भने, ‘अस्पताल, पुल, सडक, महाकाली नदीमा तटबन्ध र जगबुढा नदीमा तटबन्ध लगायतको कार्य गरेका छौं। गर्नुपर्ने अझै धेरै छ। त्यो पनि पूरा गर्छौं। जे बोल्छौँ। त्यो पूरा गरेर छाड्छौं।’
सुक्खा बन्दगाह, चारलेनको पुल निर्माणको कार्यले गति लिएको उल्लेख गर्दै उनले सुक्खा बन्दरगाह जोड्ने सडकलाई महाकाली राजमार्गसँग जोडेर सुदूरपश्चिम क्षेत्रले आर्थिक विकासमा फड्को मार्ने बताए। दोधरा चाँदनी क्षेत्रमा सुक्खा बन्दरगाह बनेपछि यो क्षेत्र ठूलो नाकाका रूपमा विकसित हुने उनको भनाइ थियो।
विगतको सरकारले संविधान भत्काउने, प्रतिनिधिसभा विघटन गर्ने र देशलाई अस्थिरतातर्फ लैजाने कार्य मात्रै गरेको उनले बताए। विकास र समृद्धिका नारा दिइए पनि कुनै पनि देश निर्माणका कार्य अगाडि बढ्न नसकेको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।