काठमाडौं- माल्दिभ्समा जारी १३औं संस्करणको साफ च्याम्पियनसिप २०२१ फुटबल प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै नेपाल अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ।
मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा सोमबार सम्पन्न खेलमा श्रीलंकालाई ३-२ गोलअन्तरले पराजित गर्दै नेपाल शीर्षस्थानमा पुगेको हो।
नेपालका लागि सुमन लामा, अञ्जन विष्ट र आयुष घलानले गोल गरेका थिए। श्रीलंकाका लागि मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक/एक गोल गरे।
साफमा नेपालले श्रीलंकालाई २२ वर्षपछि हराएको हो। पछिल्लोपटक नेपालले श्रीलंकालाई १९९९ मा हराएको थियो।
श्रीलंकाले आक्रमक खेल खेले पनि नेपालले काउन्टर अट्याकमा उत्कृष्ट खोल्यो। पहिलो हाफमा सुमन र दोस्रो हाफमा अन्जन र आयुषले नेपालका लागि गोल गरे।
खेलको ३०औं मिनेटमा नेपालले सुमनको गोलमा अग्रता लियो। नवयुग श्रेष्ठले मिडफिल्डबाट आएको बलमा डिफेन्डरलाई छक्याउँदै दिएको पासलाई सुमनले पेनाल्टी क्षेत्रभित्र लग्दै गोल गरेका थिए।
सुमनको प्रहार सुरुमा श्रीलंका गोलकिपर सुजन परेराले समात्न खोज्दा फुत्किएर बारमा लागेर फर्किएको थियो। रिबाउन्डमा सुमनले गोल गरे। उनको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो।
५२औं मिनेटमा अन्जनको गोलमा नेपालले अग्रता दोब्बर बनायो। दोस्रो हाफमा मैदान प्रवेश गरेका आयुषले दुई डिफेन्डरलाई छक्याउँदै पेनाल्टी क्षेत्र भित्रबाट दिएको कटब्याकमा नवयुगको पहिलो प्रहार गोलकिपरले फर्काएका थिए। रिबाउन्डमा अन्जनले गोल गर्न सफल भए।
५७ मिनेटमा श्रीलंकाले गोल फर्कायो। क्लिअरेन्समा बनेको मुभमा श्रीलंकाका मार्विनले झन्डै २५ यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार सिधै गोलमा परिणत भयो।
८६ औं मिनेटमा आयुषले गोल गर्दै नेपाललाई जितनजिक पुर्याए। उनले तेज तामाङको पासलाई पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै गोलरक्षक सुजनलाई चिप गर्दै नेपाललाई ३-१ ले अघि बढाएका थिए ।
इन्ज्युरी समयमा गौतम श्रेष्ठले ह्यान्ड गरेपछि श्रीलंकाले पेनाल्टीमार्फत् गोलअन्तर कम गर्ने मौका पायो। डिलन डे सिल्भाले पेनाल्टीमार्फत् गोल गर्दै श्रीलंकालाई खेलमा फर्काउने कोशिस गरेका थिए।
लगत्तै श्रीलंकाका चमोदले पेनाल्टी क्षेत्र भित्र पाएको अवसर खेर फाल्दा नेपालले ३-२ ले खेल जित्यो। यसअघि साफमा नेपाल र श्रीलंकाबीच पाँच पटक प्रतिस्पर्धा भएको थिए। जसमा नेपालले तीन खेलमा हार, एक खेलमा बराबरी र एक खेलमा जित हात पारेको थियो।
जितसँगै राउण्ड रोबिन लिगमा नेपाल अंक तालिकाको शीर्षस्थनमा उक्लिएको छ। नेपाल दुई खेलबाट ६ अंक जोडेको छ। नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्स तथा बंगालदेशले श्रीलंकालाई समान १-० ले हराएको थियो।
दोस्रो स्थानको बंगलादेशको ४ अंक छ। बंगलादेशले सोमबार साँझ सात पटकको साफ विजेता भारतलाई १-१ गोलको बराबरीमा रोकेको थियो।
यसपटकको साफमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र आयोजक माल्दिभ्स गरी पाँच टिमबीच प्रतिस्पर्धा हुनेछ। पाँच टिमले एक आपसमा खेलेपछि शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।