काठमाडौं- बंगलादेशले साफ च्याम्पियनसिप २०२१ को उपाधि दावेदार भारतलाई बराबरीमा रोकेको छ।
मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा सोमबार सम्पन्न खेलमा १० खेलाडीमा सिमित बंगलादेशले भारतलाई १-१ को बराबरीमा रोकेको हो।
खेलको २६औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले भारतलाई अग्रता दिलाएका थिए। सुनिलले उदान्ता सिंहको ब्याकपासमा पहिलो टचमा नै गोल गरेका थिए ।
दोस्रो हाफको सुरुवातीमा बंगलादेश १० खेलाडीमा सिमित भयो। लिस्टन कोलासोलाई विश्वनाथ घोषले लडाएपछि रेफ्रीले सिधै रातो कार्ड देखाए।
७४औं मिनेटमा बंगलादेशले बराबरी गोल फर्कायो । कर्नरमा फार पोस्टमा अनमार्क रहेका येसिन अराफातले हेडरमार्फत् बराबरी गोल गरे।
त्यसपछि कुनै गोल हुन नसक्दा बराबरीमा दुवै टोलीले अंक बाँढे। यस बराबरीसँगै बंगलादेश २ खेलमा ४ अंक जोड्दै अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।
नेपाल १ खेलमा ३ अंकसहित दोस्रो स्थानमा छ। भारत १ खेलमा १ अंकसहित तेस्रो स्थानमा छ भने श्रीलंका र माल्दिभ्स अंकविहिन छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।