काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष तहका नेताहरुले नै मन्त्रिपरिषद्लाई तत्काल पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिन सुरु गरेका छन्।
कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहले पार्टी, सरकार र सत्तारुढ गठबन्धनबीचको विश्वसनीयतामै ह्रास आएको निष्कर्ष निकाल्दै तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिन सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई दबाब दिएका हुन्।
उपसभापति निधिको नयाँ बानेश्वरस्थित निवासमा सोमबार बसेको तीन नेताहरुको बैठकले सत्तारुढ गठबन्धन दलका नेताहरुलाई पनि विभिन्न कारण देखाएर मन्त्रिपरिषद्लाई पूर्णता दिने काममा ढिलाइ नगर्न सचेत गराएका छन्। सरकार र गठबन्धन दलको विश्वसनीयतामाथि नै प्रश्न उठिसकेकाले छिटोभन्दा छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिन सरकारलाई आग्रह गरिएको उपसभापति निधिले बताए।
‘आज ८२/८३ दिन भइसक्यो सरकार गठन भएको। हाम्रै पार्टीका नेता शेरबहादुरजीको नेतृत्वमा सरकार छ। तर, अहिलेसम्म मन्त्रिमण्डलले पूर्णता प्राप्त गर्न सकेको छैन। त्यो ज्यादै ढिला भयो। यति ढिलो हुनुहुँदैन भनेर हामीले चिन्ता व्यक्त गरेका छौं’, निधिले भने, ‘अब छिटोभन्दा छिटो मन्त्रिमण्डलले पूर्णता पाओस्। गठबन्धनका दलहरु जो छन, ती दलहरुको कारणले गर्दाखेरी ढिलाइ नहोस्।’
नेताहरुबीच १४औं महाधिवेशनमा पार्टी पदाधिकारीहरुमा साझा उम्मेदवारी दिने विषयमा पनि छलफल सुरु भएको छ। त्यसैगरी बैठकले क्रियाशील सदस्यता सम्बन्धी बाँकी ४ जिल्लाको विवाद छिटो टुंगो लगाएर पार्टीको वडा अधिवेशन, पालिका अधिवेशन र जिल्ला अधिवेशन समयमै सक्न पनि पार्टी सभापति शेरबहादुर देउवासँग माग गरेको छ।
पार्टीको १४औं महाधिवेशनमा साझा धारणा बनाएर जाने र पदाधिकारीमा साझा उम्मेदवारी दिने विषयमा पनि छलफल सुरु गरिएको उपसभापति निधिले जानकारी दिए।
‘१४औं महाधिवेशनमा हामीले पदाधिकारीहरुको उम्मेदवारी दिने जुन कुरा छ, त्यसका बारेमा साझा धारणा बनाउने, साझा उम्मेदवारी बनाउने बारेमा पनि छलफल गर्यौं। बडा सकारात्मक छलफल भएको छ। यो छलफल आगामी दिनमा पनि जारी राख्छौं’, उनले भने।
नेपाली कांग्रेसको बारा, रौतहट, सप्तरी र रसुवा जिल्लामा अझै पार्टीको क्रियाशील सदस्यता सम्बन्धी विवाद टुंगो लागेको छैन। त्यसमा पनि नेताहरुले चिन्ता व्यक्त गरेका छन्। पार्टीको महाधिवेशन नै प्रभावित हुने गरी अझै क्रियाशील सदस्यता सम्बन्धी विवाद टुंगो लागि नसकेकोमा पनि आफूहरुले चिन्ता व्यक्त गर्दै छिटो टुंगो लगाउन नेतृत्वको ध्यानाकर्षण गराइएको उपसभापति निधिले बताए।
उपसभापति निधिले पार्टीको आसन्न १४औं महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् भने महामन्त्री कोइराला र नेता सिंहले पनि सभापति बन्ने आकांक्षा राखेका छन्। तर, उपसभापति निधिले आफूहरुबीच पार्टीको नेतृत्व र नीतिका विषयमा साझा धारणा बनाएर अघि बढ्ने गरी छलफल भइरहेको र त्यो सकारात्मक दिशामा अघि बढिरहेको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।