काठमाडौं– बालुवाटारस्थित ललिता निवासको ११२ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गरेको मुद्दामा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधव कुमार नेपालमाथि पुरक मुद्दा दायर गर्नुपर्ने जिकीर गरिएको रिटमा बहस सकिएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश नहकुल सुवेदीको इजलासमा पेसी रहेको रिटमा सोमबार निवेदक र सरकारी पक्षले बहस गरेका छन्। उक्त मुद्दाको बहसपछि सर्वोच्चले कात्तिक १५ गते फैसला सुनाउने मिति (निसु) तोकेको छ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानले ललिता निवास प्रकरणमा मन्त्रिपरिषद्बाट निर्णय गर्ने कार्यमा तत्कालीन प्रधानमन्त्री भट्टराई र नेपाल पनि संलग्न भएकाले उनीहरुविरुद्ध फेरि अनुसन्धान गरेर पुरको मुद्दा दायर गर्नुपर्ने जिकर गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
तत्कालीन भौतिक पूर्वाधारमन्त्री विजय गच्छादारविरुद्ध मुद्दा दायर हुने, तर प्रधानमन्त्रीहरुविरुद्ध नहुने कार्य गलत भएको जिकिर न्यौपानेले रिटमा गरेका थिए।
२९ माघ २०७६ मा दायर भएको रिटमा अन्तिम सुनुवाई गर्दै सर्वोच्चले फैसला सुनाउने मिति तोकेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।