काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका एक नेताले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले मन्त्रिपरिषद् विस्तारमा 'भाग' खोजेको स्वीकार गरेका छन्। प्रधानन्यायाधीश राणाले समेत भाग खोजेकाले पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको कांग्रेका ती नेताको भनाइ छ।
प्रधानन्यायाधीश राणाले आफ्ना मान्छेलाई मन्त्री बनाउनुपर्ने भनेर 'भाग' खोजेपनि सत्तारुढ गठबन्धनले भने त्यसमा सहमति नजनाएको उनको भनाइ छ। 'प्रधानन्यायाधीश ज्यूले मन्त्रिपरिषद्मा भाग खोजेको कुरा सत्य नै हो। उहाँले आफ्ना मान्छेलाई मन्त्री बनाउनुपर्छ भन्नुभएको छ, तर त्यसमा गठबन्धनले कुनै सहमति जनाएको छैन। प्रधानन्यायाधीशले माग्दैमा दिनुपर्छ भन्ने पनि त छैन नि,' ती नेताले भने।
असार २९ मा सपथ लिएका प्रधानमन्त्री शेरबहादुर देउवाले तीन महिना पुग्न लाग्दासमेत मन्त्रिमण्डललाई पूर्णता दिन सकेका छैनन्। सरकारलाई पूर्णता दिनका लागि सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक पटक-पटक बसेपनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन।
प्रधानन्यायाधीश राणाले आफ्नो तर्फबाट मन्त्री बनाइनुपर्ने भन्दै गठबन्धनका नेताहरुसमक्ष २ जनाको नाम सिफारिस गरेको चर्चा छ। दीपक तिमिल्सिना र गजेन्द्र हमाललाई मन्त्री बनाइनुपर्ने भन्दै राणाले लबिङ गर्ने गरेको गठबन्धनका नेताहरुले बताउने गरेका छन्।
प्रधानन्यायाधीशको कोटाबाट मन्त्रीको चर्चामा आएका तिमिल्सिना अदालतकै पूर्व ‘कर्मचारी’ हुन्। उनले सर्वोच्चको आइटी (सूचना प्रविधि) विभागमा काम गरेका थिए। आर्थिक ‘अनियमितता’मा मुछिएका उनी विचौलिया समेत भएको आरोप लाग्ने गर्छ। उनी समावेशी आयोगका अध्यक्ष रामकृष्ण तिमिल्सिना भतिजा हुन्।
जबराले मन्त्री बनाउन खोजेका अर्का व्यक्ति गजेन्द्र हमाल बाँकेका पुराना कांग्रेस नेता हुन्। हमाल अहिले कांग्रेसको सक्रिय राजनीतिमा भने छैनन्। कांग्रेसका पूर्व सभापति सुशील कोइरालासँग बाँकेको राजनीतिमा टक्कर परेपछि उनी कांग्रेसबाट टाढिएका थिए। उनी अहिले हिन्दू राष्ट्र र राजसंस्थाको वकालत गर्दै हिँड्न थालेको बाँकेका एक कांग्रेस नेताले जानकारी दिए। उनका एक भाइ सुरेन्द्र हमाल अहिले कांग्रेसको लुम्बिनी प्रदेश सांसद रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।