काठमाडौं- नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको पदाधिकारी घोषणा गर्ने तयारी भएको छ। यसअघि अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंहलाई चयन गर्ने सहमति भइसकेको छ।
अब संगठनको महासचिवको जिम्मेवारी दिपेश पुनलाई दिइने भएको छ। अखिल क्रान्तिकारीको जारी २२औं राष्ट्रिय सम्मेलनबाट सबै पदाधिकारीको केहीबेरमा घोषणा हुने नेता मिलन एमसीले बताए।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्षका प्रत्यासी ६ जनाबाट सिंहलाई छनोट गरेका थिए। त्यसपछि संगठनको महासचिव को हुने भन्ने विषयमा विवाद निम्तिएको थियो। अन्त्यमा पुनलाई महासचिव बनाउन नेताहरू सहमत भएपछि टुंगिएको हो।
अखिल क्रान्तिकारीको महासचिव बन्न लागेका पुन उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन्। दिपेश यसअघि अखिल क्रान्तिकारीका उपाध्यक्ष थिए।
अखिल क्रान्तिकारीमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, एक कोषाध्यक्ष र १३ सचिव हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।