फाइल तस्बिर
काठमाडौं– नेकपा (एमाले)का उपमहासचिव विष्णु पौडेलले पार्टी भित्र फरक मत नरहेको बताएका छन्।
पार्टी संगठन विभाग प्रमुखसमेत रहेका उपमहासचिव पौडेलले पार्टी विचार, संगठनसहित सबै हिसावले एकतावद्ध रहेको दाबी गरे।
उनले पार्टीको विधान महाधिवेशनमा पार्टी भित्र फरक मत कसैले पनि दर्ज नगरेको स्पष्ट पारे। आइतबार सम्पन्न पार्टीको विधान महाधिवेशनसँग केन्द्रित रहेर सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उपमहासचिव पौडेलले पार्टीको विधान महाधिवेशनमा औपचारिक रुपले कसैले फरक मत नराखेको प्रतिक्रिया दिए।
‘पार्टीमा फरक मतको अवस्थानै छैन। पार्टी विचारमा, संगठनमा सबै हिसावले एकतावद्ध छ’ पौडेलले भने।
‘निर्णयमाथि कसैको असहमति रह्यो भने उसले औपचारिक रुपले बैठकको माइन्यूटमा दर्ज गर्नुपर्छ। औपचारिक रुपमा दर्ज भयो भने त्यसलाई फरक मत मानिन्छ। यदी कसैले औंपचारिक रुपमा फरक मत राखेन भने ऊ पार्टीको निर्णयसँग सहमत भयो भन्ने मानिन्छ। हामीले यो प्रणाली नै विकास गरेका छौं’ उनले भने, ‘औपचारिक रुपमा माइन्युटमा कसैले मेरो मत यो हो भनेर दर्ज नगर्दासम्म पार्टीमा फरक मत छ भनेर मानिदैन। यस पटक कसैले पनि पार्टीमा फरक मत राखेको होइन। विचार त सबैले व्यक्त गर्यौं।’
उपमहासचिव पौडेलले विधान महाधिवेशनले पार्टी विभाजन नभएको पुन: पुष्टि गरेको बताए।
विधान महाधिवेशनको उपस्थितिले, त्यहाँ भएको छलफलले र रिर्पोटिङपछि पार्टी विभाजन नभएको आफूहरुको निष्कर्ष सही सावित भएको उनको तर्क छ। उपमहासचिव पौडेलले माधव नेपालप्रति संकेत गर्दै स्वार्थ, कुण्ठा, इस्र्याका कारण केही साथीहरु अलग भएको र भ्रममा परेर पार्टी छोडेकाहरु पुनः फर्किने क्रम सुरु भएको दाबी गरे।
उनले भने, ‘नेकपा एमाले विभाजन भएको छैन भनेर हामीले जे भनि आएका थियौं, त्यो निष्कर्षलाई यो महाधिवेशनमा भएको उपस्थितिले, छलफलले, महाधिवेशनमा जुन खालको रिर्पोटिङ भयो, त्यसले पुनः पुष्टि गरेको छ। एमाले विभाजित भएको छैन। केही साथीहरु स्वार्थ, कुण्ठा आदीका कारण पार्टीबाट अलग भए। केही साथीहरु भ्रममा परे। तर, भ्रममा रहेका साथीहरु क्रमशः फर्किरहेका छन्।’
उपमहासचिव पौडेलले एमालेको राष्ट्रिय महाधिवेशन निर्धारित समयमै हुने र त्यसले राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकालाई अरु बढी प्रभावकारी बनाएर लैजाने विश्वास व्यक्त गरे।
आइतबार सम्पन्न एमालेको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १० औं राष्ट्रिय महाधिवेशन आगामी मंसीर १०, ११ र १२ गते बुटवलमा हुने घोषणा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।