काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले महाधिवेशनको प्रक्रिया सुरु भइसके पनि अझै केही जिल्लामा क्रियाशील सदस्यताको टुंगो लगाउन बाँकी रहनु बिडम्बना भएको बताएका छन्।
नेपाली कांग्रेस काठमाडौं महानगरपालिकाको नेतृत्वमा चयन भएकाहरुलाई सोमबार बधाई दिँदै उनले महाधिवेशनको प्रक्रिया सुरु भइसके पनि अझै केही जिल्लामा क्रियाशील सदस्यताको टुंगो लगाउन बाँकी रहनु बिडम्बना भएको बताए।
उनले पार्टी केन्द्रिय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहनगरमै जिल्ला कार्यसमितिको निर्णयलाई लत्याएर एकलौटी निर्णय भएको भन्दै प्रजातान्त्रिक पार्टीमा अलोकतान्त्रिक गतिविधि हुन थालेको बताए।
अबको महाधिवेनबाट युवा पुस्ताले पार्टीको नेतृत्वलाई सम्हाल्ने आश राखेको उनले बताए।
नेता सिंहले पार्टीका केही व्यक्तिहरुले पार्टी भित्र भएका ‘अन डेमोक्रेटिक’ कुराहरुको बिरोधमा बोल्न नहुने भनेर स्याल हुँइयाँ गरेको उनको आरोप थियो।
डेमोक्रेटिक पार्टी भन्ने अनि त्यसभित्र भएको अन डेमोक्रेटिक कुराहरुको बिरोधमा बोल्नु नहुने भनेर स्याल हुँइयाँ जस्तो कराइरहेका छन्,’ नेता सिंहले भने, ‘गर्न नहुने काम आफूले गर्ने, कसैले बोल्नै नपाउने भन्ने? सिनियर लिडरहरुले त अनवरत रुपमा लिइराख्नुभएको छ, अब युवालाई सत्ता हस्तान्तरणको समय भइसक्यो।’
नेता सिंहले केही नेताहरुले पदमा पुगेकाहरुको गुणगान गाउने र चाकडी गर्ने प्रवृत्ति ठीक नभएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।