फाइल तस्बिर
काठमाडौं– नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रन्तिकारीको पदाधिकारी घोषणा विवादले राष्ट्रिय सम्मेलन लम्बिएको छ। गत असोज १४ गते उद्घाटन भएको सम्मेलन १५ र १६ गते बन्दसत्र गरेर सकिनुपर्ने हो। तर, अध्यक्षमा पञ्चा सिंह भएपनि उपाध्यक्ष महासचिव लगायत पदाधिकारीलाई लिएर विवाद भएपछि २ दिन ढिला भइसकेको छ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले गत आइतबार विद्यार्थी संगठनका अध्यक्षका प्रत्यासी तिलकराज भण्डारी, पञ्चा सिंह, सुरेन्द्र बस्नेत, उत्तम अधिकारी, दिपक देवकोटा र विजय गौतमलाई खुमलटार बोलाएर छलफल गरेका थिए।
अध्यक्षका प्रत्यासीसँग छलफलपछि अध्यक्षमा पञ्चा सिंहलाई बनाएर अरु पाँच जनालाई पार्टी केन्द्रीय सदस्यमा राख्ने प्रचण्डले आश्वासन दिएका थिए। तर, सोही समानका उपाध्यक्ष इन्द्र भुसाल, दिपेश पुन र दिपक जोशीलाई आफूहरुलाई दोस्रो दर्ताको उपाध्यक्ष बनाएर खुमलटार छलफलमा नबोलाएको भन्दै विवाद गरेका छन्। आफूहरुलाई पार्टी केन्द्रीय सदस्यमा राख्नुपर्ने नभए संगठनको महासचिव बनाउनुपर्ने माग उनीहरुले गरेका छन्।
महासचिव एक जना मात्रै हुने व्यवस्था छ। यस्तै यसअघिका उपमहासचिव मिलन एमसी र यसअघिका सचिव पवन कार्की र नरेश रेग्मीले महासचिव पद दाबी गरेका छन्। अध्यक्षपछि महासचिव पदमा धेरै जनाले इच्छा देखाएकाले पदाधिकारी घोषणा हुन नसकेको एक विद्यार्थी नेताले बताए।
सिंह अध्यक्ष भएपनि २२औं राष्ट्रिय सम्मेलनबाट घोषणा नहुन नपाउँदा अध्यक्ष मण्डलका अध्यक्ष मिलन एमसीले संगठनको नेतृत्व गरिरहेका छन्।
यस्तै केन्द्रीय कमिटी १५१ जना बनाउने भनिएपनि त्यो संख्या बढाउन विद्यार्थी नेताहरुले नेतृत्वलाई दबाब दिएका छन्। हाल एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, दुई उपमहासचिव, र १३ सचिवको पदाधिकारी बनाउने विधानमा व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।