फाइल तस्बिर
काठमाडौं– साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज (सोमबार) दोस्रो खेल खेल्दैछ।
माल्दिभ्समा जारी १३औं संस्करणको प्रतियोगिताअन्तर्गत मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा नेपालले आज श्रीलंकाको सामना गर्नेछ। नेपाल र श्रीलंकाबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ।
नेपाल श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्ने तयारीमा छ।
श्रीलंकाविरुद्ध जितको लक्ष्यसहित मैदानमा उत्रने नेपाली टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले बताएका छन्।
तर, बलियो टिम श्रीलंकाविरुद्ध नेपाललाई जित निकाल्न सहज भने हुनेछैन।‘श्रीलंकाविरुद्धको खेल चुनौतीपूर्ण हुनेछ। हामीले श्रीलंकाविरुद्ध कम्तिमा एक अंक बटुल्ने अपेक्षा लिएका छौ,’ मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भने, ‘मलाई थाहा छ श्रीलंकाका खेलाडीहरु ट्याकलमा आक्रामक छन् । तर, उनीहरुको आक्रामक खेलको फाइदा उठाउने छौं।’
नेपालले पहिलो खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।
श्रीलंका पनि भने पहिलो जित निकाल्ने योजनामा रहेको छ। श्रीलंका पहिलो खेलमा बंगलादेशसँग १–० ले पराजित भएको थियो।
साफ अन्तर्गत नै सोमबार हुने पहिलो खेलमा भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।