काठमाडौं– स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको खेलमा रियल मड्रिड पराजित भएको छ। एस्पान्योलले लिगको शीर्ष स्थानमा रहेको रियललाई २–१ गोल अन्तरले पराजित गरेको हो
एस्पान्योलले खेलको पहिलो हाफमा नै राउल डे टोमसको गोलमा अग्रता लिएको थियो। उनले खेलको १७ औं मिनेटमा एड्रियन एम्बार्बाको पासमा गोल गरेका थिए।
एस्पान्योलका लागि ६०औं मिनेटमा एलेक्स भिडालले गोल गरे। भिडालले केइदी बारेको पासमा गोल गरेका थिए।
खेलको ७१ औं मिनेटमा करीम बेन्जेमाले गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काए। लुका जोभिचको पासमा बेन्जेमाले गोल गरेका हुन्। रियलले खेलको अधिकांश समय बलमा पकड राखे पनि आक्रमण सोचेजस्तो हुन सकेन।
हारपछि पनि रियल मड्रिड अंक तालिकाको शीर्ष स्थानमा कायम छ। रियलले ८ खेलमा ५ जित, २ बराबरी र १ हारसहित १७ अंक जोडेको छ।
समान अंक जोडेको एटलेटिको गोलअन्तरमा पछि परेको छ। रियल च्याम्पियन्स लिगमा पनि शेरिफसँग पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।