काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलिका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले श्रीलंकाविरुद्धको खेल फाइनल सरह हुने बताएका छन्।
माल्दिभ्समा जारी १३औं संस्करणको साफ च्याम्पियनसिप अन्तर्गत श्रीलंकाविरुद्धको खेलअघि आइतबार भएको प्रिम्याच कन्फ्रेन्समा प्रशिक्षक अल्मुताइरीले उनीहरुको रणनीतिलाई लिएर आफूहरु अलमलमा रहेको भन्दै भोलिको खेल चुनौतीपूर्ण हुने बताए।
‘श्रीलंकाविरुद्धको खेल चुनौतीपूर्ण हुनेछ। सजिलो हुनेछैन। हाम्रो लागि फाइनल सरह हुनेछ,’ उनले भने, ‘हामीले श्रीलंकाविरुद्ध कम्तिमा एक अंक बटुल्ने अपेक्षा लिएका छौं।’
उनले श्रीलंकाको आक्रामक खेलको भने नेपाली खेलाडीले फाइदा उठाउने विश्वास व्यक्त गरे।
‘श्रीलंकाको टिम राम्रो छ र बलियो टिम हो। बंगलादेशविरुद्ध राम्रो खेल्यो। हामीलाई थाहा छ श्रीलंकाका खेलाडीहरु ट्याकलमा आक्रामक छन्। तर, उनीहरुको आक्रामक खेलको फाइदा उठाउने छौं,’ उनले भने।
यता, कप्तान तथा गोलकिपर किरण चेम्जोङले श्रीलंकाविरुद्ध तीन अंकको लागि खेल्ने बताएका छन्।
‘मलाई विश्वास छ भोलि हामीले अंक ल्याउनेछौं र जित्ने छौं। भोलिको खेल महत्त्वपूर्ण खेल हो। माल्दिभ्सविरुद्धको खेलअघि पनि भनेको थिए हामी गोर्खाली हौं। हामीले ९० मिनेटसम्मै जितका लागि फाइट गर्नेछौं,’ उनले भने।
नेपालले दोस्रो खेलको रुपमा भोलि सोमबार श्रीलंकाविरुद्ध खेल्दैछ। नेपाल र श्रीलंकाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
नेपालले पहिलो खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेको थियो।
नेपाललाई जित दिलाउन मनिष डाँगीले निर्णायक गोल गरेका थिए। नेपाल तीन अंकका साथ दोस्रो स्थानमा रहेको छ।
यता, श्रीलंका भने पहिलो खेलमा बंगलादेशसँग १–० गोल अन्तरले पराजित भएको थियो। बंगलादेशका लागि तोपु बर्मानले निर्णायक गोल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।