काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखभित्र मेलम्चीको पानी काठमाडौं ल्याएर देखाउन सरकारलाई चुनौती दिएका छन्।
एमालेको विधान महाधिवेशन अन्तर्गत आइतबार राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्न र सुझावमाथि बोल्दै ओलीले सरकारसँग इख भए वैशाखभित्र मेलम्चीको पानी ल्याएर देखाउन भनेका हुन्। सरकारले यसअघि बाढीले क्षतिग्रस्त मेलम्चीको पानी वैशाखभित्र काठमाडौं झारिसक्ने बताएको थियो। ओलीले त्यसैमा टिप्पणी गरेका हुन्।
'अहिलेको सरकारले सुनोस्, वैशाखभित्र मेलम्चीको पानी ल्याएर देखाओस्। इख छ भने गोदावरीमा गएर केपी ओलीले भनेको थियो भनेर सम्झेओस्', ओलीले भने, 'हाम्रो सरकार भएको भए काम सुरु हुने थियो। तर, अहिलेको सरकारले यो काम गर्नेवाला छैन। वैशाखमा मैले फेरि भाषण गर्नेछु, यिनीहरुले पानी झारेनन् भनेर।'
ओलीले मेलम्चीको पानी ल्याउन पनि एमाले नै सरकारमा आउनु पर्ने दाबी गरे।
उनले अहिलेको सरकार बेहाल अवस्थामा छ रहेको टिप्पणी गरे। 'नेपाली आकाशमा विदेशीको हेलिकप्टर उडेको छ त्यसलाई हो पनि भन्न सक्दैन। तुइन काटेर मानिस बेपत्ता भएको छ, त्यसमा बोल्न सक्दैन', ओलीले थपे, 'त्यो रिपोर्ट लुकाउन दक्षिणतिर फर्केर बोल्न पनि सक्दैन। आफ्नो नागरिकको हक अधिकारका लागि बोल्न सक्दैन भने कस्तो सरकार हो?'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।