काठमाडौं– नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीमा बुढा नेता एकातिर र अरु नेताहरु अर्कोतिर हुने अवस्था आउनसक्ने बताएका छन्।
ललितपुरको गोदाबरीमा जारी विधान महाधिवेशन प्रस्तुत संगठन प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा पोखरेलले नेतृत्व पंतिमा उमेर समूहअनुसारको विमाजन आउन सक्ने बताएका हुन्।
कम्युनिस्ट पार्टीको नेतृत्वमा योजनावद्ध विकास हुनुपर्ने बताउँदै पोखरेलले त्यस्तो नभए बुढा र वयस्क नेताहरु छुट्टिने अवस्था आउने उनको भनाइ छ।
'कम्पोजिसन अब ख्याल गर्नुपर्छ। नत्र बुढाहरु एकातिर हुने, अरु अन्यत्र हुने अवस्था आउन सक्छ,' पोखरेलले भने। मापदण्ड पूरा गरेर २० प्रतिशत युवालाई ल्याउने प्रस्ताव आएको र त्यसमा आफू सकारात्मक भएको पोखरेलले बताए।
पोखरेलले पार्टीलाई व्यवस्थित गर्न विचारमा एकरुपमा हुन जरुरी रहेको बताए। 'पार्टी विचारमा एकरुपता हुनुपर्छ। विचारमा एकरुपता भएन भने पार्टी पार्टी जस्तो हुँदैन, स्वार्थ समूह हुन्छ भन्ने आशयबाट जुन कुरा आएको छ, त्यो अत्यन्तै मननयोग्य छ,' पोखरेलले भने।
पार्टीको कमिटी प्रणाली बीचमा केही कमजोर भएको पोखरेलले स्वीकार गरे। 'हाम्रो कमिटी प्रणाली बीचमा कमजोर भयो। नेतृत्व पंक्तिलाई हेरेर आलोचना गर्नुभएको छ। नेता बन्ने र बनाउने कुरामा जुन श्खलन देखिएको छ, त्यसमा पनि तपाईंले चासो देखाउनुभएको छ,' पोखरेलले भने, 'कम्युनिस्ट पार्टीका जुनसुकै तहका नेता हुन जनताले पत्याएका स्थापित भएका नै नेतृत्वमा पुग्न सक्छन्। कसैको नाता गोताको आधारमा भनसुनको आधारमा हुँदैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।