काठमाडौं- नेकपा एमालेको विधान महाधिवेशनमा उपमहासचिव विष्णु पौडेलद्वारा प्रस्तुत पदाधिकारीको संख्यामा हेरफेर हुने भएको छ। पौडेलले आइतबार प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै संख्या हेरफेर हुने जानकारी दिए।
उनले अध्यक्ष १, उपाध्यक्ष ५ (१ जना वरिष्ठ सहित), महासचिव १, उपमहासचिव १ र सचिव ७ जना हुने बताए।
यसअघि शुक्रबार उनले गरेको प्रस्तावमा अध्यक्ष १, उपाध्यक्ष ५ (वरिष्ठको व्यवस्था थिएन), सचिव ६ जना पदाधिकारी हुने उल्लेख थियो। हटाउने भनिएको उपमहासचिवलाई कायमै राख्ने उनले बताए।
जवाफमा पौडेलले १५ जनाभन्दा बढी पदाधिकारीको व्यवस्थापन गर्न नसकिने बताए।
पौडेलले १३ सदस्यीय पदाधिकारी रहने प्रस्ताव गरेको भए पनि समूह छलफलबाट १ जना उपाध्यक्ष हुनुपर्ने देखि ९ जनासम्म रहने व्यवस्था गर्न सुझाव दिइएको उनको भनाइ थियो।
धेरै जसो समूहबाट भने एक वरिष्ठ उपाध्यक्ष सहित ७ जना उपाध्यक्ष हुनुपर्ने भन्ने थियो। तर, उपाध्यक्षको हकमा एक जना वरिष्ठ उपाध्यक्षको व्यवस्था गर्ने भन्दा बाहेक अन्य परिवर्तन गरिएन। सचिवको संख्या भने थपिने भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।