विराटनगर– कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको रैथाने मकुना हात्ती करेन्ट लागेर मरेको छ। आरक्ष छेउको धानबारीमा लगाइएको करेन्टमा परेर मकुना मरेको हो। कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयले समेत मकुना करेन्ट लागेर मरेको पुष्टि गरेको छ।
आरक्षका संरक्षण अधिकृत अशोक रामले चरणको क्रममा धानखेतमा पुगेको मकुना हात्ती करेन्ट लागेर मरेको बताए। रामका अनुसार हात्ती आइतबार बिहान मृत भेटिएको थियो।
आरक्षका प्रमुख संरक्षण अधिकृत रामले मकुनाको मृत्युले आरक्षलाई ठूलो क्षति पुगेको बताए।
केही साताअघि मात्रै संरक्षण विभागले मकुना स्थानान्तरणको विषयमा तयारी थालिएको बताएको थियो। जसका लागि आरक्ष हातामा स्थापना गरिएको प्रकृति संरक्षण कोष मातहतको कोशी टप्पु संरक्षण केन्द्रलाई अध्ययनको जिम्मेवारी दिइएको थियो।
मकुना जंगली हात्ती भएपनि रैथानेका रुपमा लामो समययता आरक्ष हातामै बस्दै आएको थियो। मकुना हात्तीसारमा रहेका हात्तीको अभिभावकका रुपमा समेत रहेको थियो।
मकुना आरक्षमा रहेका जंगली हात्तीको नाइके समेत थियो। आरक्षबाट हुलमा बस्तीमा प्रवेश गर्ने क्रममा मकुनाले अन्य हात्तीको अगुवाइ गर्ने गर्थ्यो।
मकुनाको आक्रमणमा परी सर्वसाधारणको ज्यान जाने क्रम बढेसँगै हात्ती स्थानान्तरणको आवाज उठ्दै आएको थियो। मकुनाले सुनसरी र सप्तरी तर्फका दर्जन बढीको ज्यान लिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।