काठमाडौं– नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह चयन भएकी छन्। अखिल क्रान्तिकारीको २२औं राष्ट्रिय सम्मेलनको बन्दसत्रपछि अध्यक्षको औपचारिक घोषणा हुने सिंहले बताइन्।
संगठनका अन्य पदाधिकारी भने विद्यार्थी संगठनको कार्यालय बैठकले टुंगो लगाउने उनको भनाइ छ। ‘पार्टी अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बसेर भएको सहमतिमा मलाई अध्यक्ष बनाइयो,’ सिंहले भनिन्, ‘संगठनका अन्य पदाधिकारी भने विद्यार्थी संगठनको कार्यालय टिम बसेर टुंगो लगाउँछौं।’
कालिकोट निवासी अध्यक्ष सिंहका श्रीमान् ‘जनयुद्ध’मा सहिद भएका थिए। जनयुद्धकालदेखि नै सक्रिय भई विद्यार्थी राजनीतिमा लागेकी उनी अर्थमन्त्री जनार्दन शर्मा निकट मानिन्छिन्।
उनी यसअघि उपाध्यक्ष थिइन्। अखिल क्रािन्तकारीमा पहिलोपटक महिला अध्यक्ष हुने अवसर सिंहले पाएकी छिन्। सिंहसँगै अध्यक्षका प्रत्यासी ५ जनालाई पार्टी केन्द्रीय समितिमा समेटिने प्रचण्डले आश्वासन दिएका छन्। अध्यक्षका अन्य प्रत्यासीमा तिलकराज भण्डारी, सुरेन्द्र बस्नेत, दीपक देवकोटा, विजय गौतम र उत्तम अधिकारी थिए।
विद्यार्थी संगठनको कार्यालय बैठकपछि अध्यक्षसहित पदाधिकारी र केन्द्रीय समिति घोषणा हुने भएको छ। अखिल क्रन्तिकारीमा पाँच उपाध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, दुई उपमहासचिव तथा १३ सचिवसहित १५१ जना पदाधिकारी रहने व्यवस्था छ।
अध्यक्षपछि सबैभन्दा प्रभावकारी मानिएको महासचिव पदमा दिपेश पुनलाई चयन गर्ने सहमति भएको एक विद्यार्थी नेताले बताए। दिपेश उपराष्ट्रपतिका नन्दबहादुर पुन‘पासाङ’का छोरा हुन्। उनी यसअघि उपाध्यक्ष थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।