काठमाडौं– नेकपा (एमाले)को जारी विधान महाधिवेशनमा प्रदेश २ समूहले माओवादी पृष्ठभूमिबाट आएकालाई फरक तरिका र विभेद नगरियोस् भन्ने सुझाव राखेकी छन्। समूहगत छलफलको सुझाव पेश गर्दै प्रदेश २ की टोली नेता ज्वाला साहले राजनीति प्रतिवेदन समय सान्दर्भिक र उत्कृष्ट रहेको बताइन्।
जबजलाई आत्मसात् गर्दै समाजवादतर्फ लाग्नुपर्ने उनको सुझाव छ। निर्वाचन प्रणाली खर्चिलो भएकाले यसलाई सुधार गर्नुपर्ने समेत उनको भनाइ थियो।
प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्ने सुझावसमेत उनीहरुको छ। मधेसी, महिला, जनजातिलगायत सबैलाई पार्टी र राज्यका निकायमा समान सहभागी गराइनुपर्ने सुझावसमेत उनीहरुको छ।
महिला राष्ट्रपतिलाई लक्षित गरेर गरिएको व्यवहार गलत रहेकाले यस विषयमा प्रस्ट धारणा राखिनुपर्ने सुझावसमेत उनीहरुको छ। पार्टीभित्र पूर्वमाओवादी पृष्ठभूमिबाट आएका साथीलाई अपमान गर्ने गतिविधि देखिएको बताउँदै उनीहरुको समूहले एमाले भनेर लागेपछि विभेद गर्न नहुने बताएको छ। गुटबन्दी अन्त्य गर्न नसके हामीले बनाउन चाहेको एमाले पार्टी निर्माण हुन नसक्ने उनीहरुको भनाइ छ।
पार्टीले शक्तिशाली कार्यकर्ता मूल्यांकन आयोग गठन गर्नुपर्ने सुझावसमेत उनीहरुको छ। महाधिवेशनमा नेतृत्व चयन गर्दा आन्तरिक जनवादलाई अगाडि बढाएर लैजानुपर्ने सुझासमेत दिइएको छ। श्रमिकको व्यवस्थापन गरी सुखी नेपाली समृद्ध नेपाल निर्माणको अभियानलाई अगाडि बढाउन पार्टी कमिटीले पनि ध्यान दिनुपर्ने सुझाव उनीहरुको छ।
उमेर हदभन्दा एउटा व्यक्ति दुई कार्यकाल भन्दा बढी बस्न नपाउने विषय कडाइका साथ लागु गर्नुपर्ने सुझाव उनीहरुको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।