काठमाडौं- म्याचेस्टर युनाइटेडले प्रिमियर लिगको अंक तालिकाको शीर्षस्थानमा पुग्ने मौका गुमाएको छ।
शनिबार सम्पन्न खेलमा एभर्टनले १–१ को बराबरीमा रोकेसँगै युनाइटेडले शीर्षस्थानमा पुग्ने मौका गुमाएको हो।
खेलमा अग्रता युनाइटेडले लिएको थियो। ब्रुनो फर्नान्डेजको पासमा एन्टोनी मार्सियलले ४३औं मिनेटमा गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा अग्रता दिलाएका थिए।
तर, एभर्टनले ६५औं मिनेटमा बराबरी गोल फर्कायो। एन्ड्रोस टाउनसेन्डले गोल गर्दै एभर्टनलाई १–१ को बाराबरीमा ल्याए। एब्डोयुलाय डोकोउरेको पासमा टाउनसेन्डले बराबरी गोल गरेका थिए।
बराबरीपछि एभर्टनका यरी मिनाले गरेको गोल भीएआर परीक्षणबाट अफसाइड दिएको थियो।
दोस्रो हाफमा मैदान प्रवेश गरेका क्रिस्टियानो रोनाल्डोको शनिबारको खेल प्रिमियर लिगको २ सयौं खेल थियो। रोनाल्डो ५७ औं मिनेटमा इन्डिसन काभानीको सट्टा मैदान प्रवेश गरेका थिए।
यस बराबरीसँगै युनाइटेड र एभर्टनको समान १४ अंक पुगेको छ। युनाइटेड दोस्रो र एभर्टन तेस्रो स्थानमा उक्लेका छन्।
एक खेल कम खेलेको लिभरपुल समान १४ अंकका साथ शीर्षस्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।