काठमाडौं- नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठकले भ्रातृ संगठन अखिल क्रान्तिकारीको नयाँ अध्यक्ष छान्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको बैठकले अध्यक्षका दाबेदार केही नाममा छलफल गरे पनि टुंगो लगाउन नसकेपछि यसको जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको हो।
स्थायी समिति सदस्य शक्ति बस्नेतका अनुसार अखिल क्रान्तिकारीको नेतृत्व छान्न नसकेपछि थप निर्णयका लागि दाबेदार नेताहरुसँग अध्यक्ष प्रचण्डसहित माओवादीका शीर्ष नेताले आइतबार पनि छलफल गर्ने भएका छन्।
प्रचण्डले आइतबार बिहान अखिल क्रान्तिकारीका अध्यक्षको प्रत्यासीलाई बोलाएर छलफल गर्ने उनले जानकारी दिए।
‘नेतृत्वको टुंगो लगाउन बसेको बैठकले नाममा सहमति नजुटाएपछि भोलि फेरि क्रान्तिकारीको नेतृत्वका दाबेदारसँग शीर्ष नेतृत्वको बैठक बस्ने कुरा भएको छ,’ उनले भने,‘अध्यक्षका प्रत्यासीलाई छलछलका लागि बोलाइएको छ।’
माओवादीले सम्भावित नाम टुंगो नलगाए पनि राजधानीमा जारी अखिल क्रान्तिकारीको २२औँ सम्मेलनले अध्यक्षबाहेक अरु पदमा नेतृत्वको टुंगो लगाइसकेको छ।
अखिल क्रान्तिकारीको नयाँ अध्यक्षका लागि सुरेन्द्र बस्नेत, तिलक भण्डारी, पञ्च सिंह, उत्तम अधिकारी, दिपक देवकोटा र विजय गौतम प्रतिस्पर्धामा देखिएका छन्।
बस्नेत अहिले वरिष्ठ उपाध्यक्षको भूमिका छन्। उता, सिंह उपाध्यक्षको जिम्मेवारीमा छन्। बस्नेत अध्यक्ष प्रचण्डनिकट मानिन्छन्। सिंह अर्थमन्त्री जनार्दन शर्मानिकटका रुपमा चिनिन्छन्।
यी दुईबाहेक भण्डारी र देवकोटा अखिल क्रान्तिकारीका उपाध्यक्ष हुन् भने गौतम महासचिव हुन्। यसअघि अखिल क्रान्तिकारीको नेतृत्वका लागि दौडमा रहेकाहरूसँग अध्यक्ष प्रचण्डले छलफल गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।