काठमाडौं– माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का महासचिव वेदुराम भुसालले प्रमुख प्रतिपक्ष नेकपा एमालेले संसद् अवरुद्ध पारेर संविधानमाथि नै हमला गर्ने काम गरिरहेको आरोप लगाएका छन्।
महासचिव भुसालले एमालेले अदालतमा विचाराधीन मुद्दालाई विषय बनाएर संसद् अवरुद्ध पार्नु गैरसंवैधानिक र गैरकानुनी कदम भएको तर्क समेत गरे।
शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले सदन अवरुद्ध पार्ने कामले एमाले आफैं जनताको माझमा नांगिदै गएको दाबी समेत गरे।
‘यो लोकतन्त्रमाथिको हमला हो। संविधानमाथिको हमला हो। गैरजिम्मेवार र अनैतिक काम हो। जो उहाँहरुले गरिरहनु भएको छ, त्यसले उहाँहरु नांगिनु भएको छ’, भुसालले भने, ‘संविधानमा अदालतमा विचाराधीन विषयमा संसद्मा छलफल हुन नसक्ने संवैधानिक व्यवस्था छ। एमालेले संविधानको त्यो व्यवस्था विपरितका काम गरिरहेको छ।’
महासचिव भुसालले मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सत्तारुढ गठबन्धनले पहिलो प्राथमिकता दिएको पनि बताए। तर, उनले मन्त्रिपरिषद्ले कहिले पूर्णता पाउँछ भन्ने विषय भने खुलाएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।