काठमाडौं– सत्तारूढ दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले अझै पूर्णता नपाएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।
गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ८१ दिन बित्दा समेत सरकारले पूर्णता नपाएकोमा दुःख व्यक्त गरे।
उपसभापति निधिले छिटोभन्दा छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका नेताहरूलाई दबाब समेत दिए। उनले सरकारले अझै पूर्णता नपाउनु सिंगो देशकै लागि चिन्ता र दुःखको विषय भएको स्मरण समेत गराए।
उपसभापति निधिले भने, ‘८१ दिन भो गठबन्धनको तर्फबाट सरकार बनेको तर गठबन्धनबीच सहमति नभएको कारण हाम्रै पार्टीका सभापति सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले मन्त्रिमण्डललाई पूर्णता दिन सकेको छैन।’
निधिले सरकारले पूर्णता पाउन ढिलाइ भएबाट सत्तारुढ गठबन्धन चुनावसम्म मिलेर अघि बढ्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठेको समेत टिप्पणी गरे।
उनले गान्धीको अहिंसाको बाटोबाट अघि बढेर मात्रै हरेक राष्ट्रले शान्ति र समृद्धी प्राप्त गर्न सक्ने बताए। कांग्रेस नेता अर्जुननरसिंह केसीले हिंसालाई त्यागेर मात्रै गान्धीले देखाएको अहिंसाको बाटोमा अघि बढ्न सकिने स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।