काठमाडौं- नेकपा एमालेको जारी विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनहरुमाथि छलफलका लागि तय गरिएको लुम्बिनी प्रदेश समूहले निर्वाचन प्रणाली खर्चिलो भएको विषयलाई प्राथमिकताका साथ उठाएको छ।
शनिबार बिहान समूहमा भएको छलफलको निष्कर्षलाई दिउँसोको पूर्ण सत्रमा लिला गिरीले प्रस्तुत गरेका हुन्।
‘निर्वाचन प्रणाली निकै खर्चिलो भयो। यसलाई कम खर्चिलो बनाउनुपर्छ,’ समूह रिपोर्टिङ गर्दै उनले भने,‘निर्वाचन लड्न नसक्ने स्थिति देखिएको छ। टिकट लिन पनि डराउनुपर्ने अवस्था रहेको छ।’
पार्टीको प्रथम विधान महाधिवेशनलाई ऐतिहासिक कार्यक्रम भनेको यो समूहले जनताको बहुदलीय जनवादलाई समय अनुसार व्याख्या गरिनुपर्ने सुझाव पनि दिएको थियो।
यो समूहले प्रधानमन्त्रीलाई प्रत्यक्ष निर्वाचित गर्ने प्रणालीमा जानुपर्ने सुझाव पनि दिएको छ। संविधान सभाको चुनावमा एमालेले यही मुद्दाका साथ घोषणापत्र तयार गरेको थियो। तर संविधान लेखनका बेलामा त्यसलाई छाडेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।