काठमाडौं- नेकपा एमालेको जारी विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनहरुमाथि छलफलका लागि तय गरिएको केन्द्रीय निकाय र केन्द्रीय विभाग समूहले एमसीसीबारे पार्टीको धारणा प्रस्ट हुनुपर्ने रिपोर्टिङ गरेको छ। बिहान समूहमा भएको छलफलको निष्कर्षलाई दिउँसोको पूर्ण सत्रमा भानुभक्त ढकालले प्रस्तुत गरेका हुन्।
सो समूहका ६५ जनाले बोलेर सुझाव दिएका थिए भने २० जनाले लिखित सुझाव दिएका थिए। धेरैले विधान महाधिवेशन अलग रुपमा आयोजना गर्नाले राम्रो गरेको बताएका छन्। यो समूहले आम निर्वाचन प्रणाली निकै खर्चालु भएको कुरालाई प्राथमिकता दिएको थियो। यसलाई परिवर्तन गर्नका लागि एमालेले नै पहलकदमी लिनुपर्ने सुझाव पनि दिइएको छ।
यो समूहको तर्फबाट व्यक्ति हाबी हुनेभन्दा पनि नीति र संस्था ठूलो हुने भन्ने कुरालाई स्थापित गरेर लैजानुपर्ने रिपोर्टिङ गरिएको छ। महाधिवेशनस्थलमा अध्यक्ष केपी शर्मा ओलीलाई देवत्वकरण गरिएको भनेर आलोचना भइरहेको बेलामा यस्तो सुझाव दिइएको हो।
यो समूहले पदाधिकारीमा वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्ष बनाउनुपर्ने, एक जना उपमहासचिव पनि बनाउनुपर्ने सुझाव दिएको छ। यसअघि एमालेमा उपमहासचिव हुने गरेको भए पनि शुक्रबार प्रस्तुत विधान संशोधन प्रस्तावमा सो पद हटाइएको छ। त्यस्तै, पोलिट्ब्युरो हटाउने प्रस्तावलाई पनि पुनर्विचार गर्न भनिएको छ। त्यो कमिटी बनाउँदा पार्टीलाई राम्रो नै हुने यो समूहको बुझाइ छ।
त्यस्तै, कार्यकारी पद दुई कार्यकाल नै हुनुपर्ने सुझाव दिइएको छ। एमालेको आन्दोलनमा रहेर पनि अहिले बाहिर रहेका नेता कार्यकर्तालाई पुनः मूल घर (एमाले) मै फर्किने वातावरण बन्नुपर्ने यो समूहको सुझाव छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।