काठमाडौं- नेकपा (एमाले)को जारी विधान महाधिवेशनमा बागमती प्रदेश समूहले एमसीसीको बारेमा प्रस्ट व्याख्या गरिनुपर्ने माग उठाएको छ।
समूहगत छलफलको रिपोर्टिङ प्रस्तुत गर्दै बागमती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले दक्षिण एसियाको राजनीति र एमसीसीको प्रस्ट व्याख्या गरिनुपर्ने बताएका हुन्।
अराजकता र अव्यवस्थित हुँदा पार्टी विभाजन भएकोले यसको समीक्षा गर्नुपर्ने उनले बताए। 'व्यवस्थित रुपले पार्टीलाई अगाडि लैजानुपर्छ। सरकार र पार्टीको भूमिकाको प्रस्ट व्याख्या र नीति बनाउनुपर्छ,' अध्यक्ष पोखरेलले भने, 'दस्तावेज अरु दलसितको सम्बन्धको बारेमा प्रस्ट आउनुपर्छ।'
पार्टीभित्र टाढाबाठाले मौका पाउने अरुले नपाउने विषयलाई ध्यान दिनुपर्ने बताएका छन्। नजिक हुनेले अवसर पाउने अरुले नपाउने भन्ने विषय पनि उठेको उनले जानकारी गराए। 'नेतृत्वलाई ब्राण्डिङ गरेर जाने विषयमा पनि फरक-फरक कुरा उठेको छ। ब्राण्डिङ नेताको गर्नुहुन्न भन्ने कुरो पनि छ। त्यस्तै अन्तर्राष्ट्रिय अभ्यासका हिसाबले पनि कतिले ब्राण्डिङ गरेर जानु उपयुक्त हुन्छ,' उनले भने।
अबको महाधिवेशन एकताको हुनुपर्नेमा उनले जोड दिएका छन्। 'मतभेद नभएर स्वतन्त्र र सहमतिमा नेतृत्व चयन हुनुपर्छ। यसमा सबै गम्भीर हुनुपर्छ भन्ने सुझाव उठेको छ। पार्टी कार्यकर्ताको उचित मूल्यांकन हुनुपर्छ। एउटा निश्चित मापदण्ड बनाएर जानुपर्छ,' अध्यक्ष पोखरेलको भनाइ थियो।
उपाध्यक्षमा एक वरिष्ठसहित आठ हुनुपर्ने, उपमहासचिव राखिनुपर्ने र सचिव समावेशीताका आधारमा सात जना हुनुपर्ने सुझाव बागमतीको तर्फबाट उनले दिए। उमेरको हद राखेर कसैलाई रोक्न नहुने निष्कर्ष उनले प्रस्तुत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।