काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी छाडेर एमाले प्रवेश गर्ने पूर्वमन्त्रीहरुप्रति दिग्दारी व्यक्त गरेका छन्। मन्त्री बनाएकाहरुले धोका दिएकाले आजकाल आफूलाई मन्त्री बनाउने जाँगर नै चल्न छाडेको उनको भनाइ छ।
'जसलाई जति ठूलो र धेरैपटक मन्त्री बनायो, त्यसैले जनताप्रति, क्रान्तिप्रति, पार्टीप्रति, नेतृत्वप्रति, मार्क्सवादप्रति त्यसैले सबैभन्दा बढी धोका दिएको छ', प्रचण्डले भने, 'तपाईंहरुले हेर्नुभयो नि, लेखराजदेखि टोपबहादुर। झन् बादल त कताकता गएकालाई ल्याएर सबैभन्दा ठूलो बनाइदिएको त, उता लगेर बिक्री गरे। हामीले दिएको लाइसेन्स, बिक्री गरेर, विधान अधिवेशनको जिम्मा रे। के लाजमर्दो। सुन्दा पनि अनौठो लाग्छ।'
बादल एमालेले पहिलो पटक आयोजन गरेको विधान महाधिवेशनको मूल व्यवस्थापन समितिका संयोजक हुन्।
सम्पर्क समन्वय विशेष प्रदेश समितिको प्रशिक्षण कार्यक्रममा शनिबार सम्बोधन गर्दै प्रचण्डले बीचमा आफूहरु कहीँ न कहीँ वैचारिक ढंगले कन्फ्युज, अलिअलि निराश, अलिअलि व्यक्तिगत स्वार्थ, पद र प्रतिष्ठाको निम्ति प्रतिस्पर्धा गर्ने खालका हामी भएको बताए। उनले जो जति माथि गयो, त्यो त्यति बिग्रिएको पनि बताए।
'आजकाल एउटा संश्लेषण भन्ने गरेको छु, तलतलका साथीहरु कोही बिग्रिएका छैनन्', उनले भने, 'बिग्रेको हामी हौं। मैले केन्द्रीय समितिमा भनेँ, पहिला नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने भयो, कार्यकर्ताले होइन। कार्यकर्ता त आफ्नो ठाउँमा ठीक ठाउँमै छन्। जनता पनि ठीक ठाउँमै छन्। जनताले पनि हामीलाई साथ छाडेको होइन।'
आफूहरुले बिस्तारै जनता छाडेको जस्तो भएको प्रचण्डको भनाइ छ। 'जनता निराश त्यस अर्थमा छन्, कहाँ गए यी माओवादी क्रान्तिकारी भन्नेहरु, कता हराए?', उनको बुझाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।