काठमाडौं- नेकपा (एमाले)को केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले शक्ति केन्द्र र पार्टी नेतृत्वमा रहेकाले आलोचना स्वीकार गर्न नसकेको बताएका छन्। गोदावरीमा जारी पार्टीको प्रथम विधान महाधिवेशनमा केन्द्रीय अनुशासन आयोगको तर्फबाट प्रतिवेदन पेस गर्दै उनले यस्तो बताएका हुन्।
‘पार्टीमा अनुशासन कायम भएन अन्तरविरोध पहिचान गर्नेमा ध्यान कम गयो गुटबन्दी बढ्यो। आलोचना गर्नेलाई निषेध गर्नेसमेतको काम भयो। नेतृत्वले आत्मालोचना स्वीकार गर्न सक्नुपर्दछ,’ उनले भने, ‘पार्टीभित्र चरम असन्तुष्टि बढ्यो। स्वेच्छारी प्रवृत्ति बढेकाले निकै समस्या आयो।’
उनले पार्टी जीवनमा अहिलेसम्म देखिएका यी विषयलाई कुनै पनि हालतमा दोहोरिन दिन नहुने बताए। नेतृत्व विकासका लागि वैज्ञानिक नीति र पद्धति अपनाउनुपर्ने भन्दै उनले अस्वस्थ्य प्रतिस्पर्धा हटाइनुपर्ने बताए।
‘हरेकलाई प्रतिस्पर्धामा सामेल हुनसक्ने गरेर अघि बढ्नुपर्छ। नेतृत्व प्राप्तिका लागि हुने गुटबन्दीको दुरुत्साहन हुनुपर्छ,’ उनले भने, ‘अन्तरविरोध हुनु स्वाभाविक हो। नेृतत्वले आलोचनालाई स्वीकार गरेर जान सक्नुपर्दछ। समस्या हुनु स्वाभाविक हो। यसको यथा समयमा नै समाधान गर्नुपर्छ।’
पार्टीको बैठक नबस्ने छलफल नहुनेलगायतका कामहरु बढेपछि त्यसले नेताहरुबीच व्यापक असन्तुष्टि देखिएको र अहिलेको समस्या आइपुगेको उनले प्रतिवेदनमा उल्लेख गरेका छन्।
‘पार्टीमा नीति, विधि देखिए पनि त्यो व्यवहारमा लागू हुन सकेको देखिएको छैन,’ उनले भने, ‘अनुशासन उल्लंघन बढ्यो। समस्या धेरै छन्। अब पार्टीलाई अघि बढाएर लैजान सबै गम्भीर हुनुपर्छ।’
पार्टीभित्र गुटजन्य कुरा कुनै पनि हालतमा दोहोरिन दिन नहुने भन्दै त्यसले थप समस्या ल्याउने बोहराले बताए। आत्मकेन्द्रित प्रवृत्ति पनि पार्टीभित्र देखिएको अर्को समस्या भएको उनले बताए।
‘कमिटीको आकार ठूलो भएको छ। प्रभावकारी हुन सकेका छैन। बैठक बस्न सकेको छैन। समस्यामाथि छलफल हुन सकेको छैन। यो कुरालाई आत्मसाथ गर्दै पार्टी र कमिटीलाई जुझारु र सशक्त बनाइनुपर्छ,’ उनले भने। पार्टीमा हुनेखाने वर्गको प्रभाव बढ्दै गएको भन्दै उनले त्यसका कारण चुनाव पनि खर्चिलो हुन थालेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।