काठमाडौं- नेकपा एमालेको जारी विधान अधिवेशनमा अहिले विभिन्न १० वटा समूहमा छलफल चलिरहेको छ।
शुक्रबार अध्यक्ष केपी शर्माले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलले विधान सशोधन प्रस्ताव प्रस्तुत गरेका थिए। तीन वटै दस्तावेजमाथि शनिबार बिहानदेखि छलफल चलिरहेको हो।
छलफलमा सहभागी विभिन्न समूहका नेताहरुले दिएको जानकारी अनुसार केही साझा विषयमा सहभागीहरुले समान खालको विचार प्रस्तुत गरेका छन्। त्यसै मध्येको एक हो, संसद् विघटन।
गत पुस ५ र जेठ ७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेका थिए। त्यसले उनले आफ्नो बाध्यात्मक कदमको रुपमा प्रस्तुत गर्दै आएका छन्। त्यसलाई एमालेकै प्रतिनिधिहरुले अविश्वास गरेका छन्। 'बाध्यात्मक परिस्थिति भनेर मात्रै पुग्दैन, त्यसलाई अझ पत्यारिलो ढंगले विस्तृतमा व्याख्या गर्नुपर्छ भन्ने कुरा हाम्रो समूहमा उठेको छ', एक सहभागीले नेपाल लाइभसँग भने।
प्रतिनिधिहरुले चुनावमा संसद् विघटनको विषयलाई विपक्षीहरुले चर्को गरी उठाउने भएकाले आफूहरुले जनतालाई बुझाउन सक्ने भाषामा प्रष्ट पार्नुपर्ने गरी अध्यक्षले व्याख्या गर्नुपर्ने चाहेका छन्। 'चुनावमा भोट माग्न जाँदा जनताले फेरि पनि संसद् विघटन गर्नेलाई किन भोट दिनु भन्दिए भने के जवाफ दिने? बाध्यात्मक भनेर मात्रै त नपुग्ला', अर्का समूहका एक सहभागीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।