काठमाडौं- युवा फरवार्ड मनिष डाँगीको निर्णायक गोलमा नेपालले साफ च्याम्पियनसिप २०२१ मा विजयी सुरुवात गरेको छ।
मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा शुक्रबार सम्पन्न खेलमा आयोजक तथा साविक विजेता माल्दिभ्सलाई १-० गोलले पराजित गर्दै नेपालले सुखद् सुरुवात गरेको हो।
खेलको अधिकांश समय माल्दिभ्सले बल पोसेसन जमाएपनि नेपाली डिफेन्सलाई तोड्न सकेन। ११औं मिनेटमा सुजल श्रेष्ठको लामो दुरीको प्रहारलाई माल्दिभ्सका गोलरक्षक मोहमद फैसलले सहजै बचाए।
लगत्तै नवयुग श्रेष्ठको पासमा रोहित चन्दले पेनाल्टी क्षेत्रभित्र ‘अनमार्क’ रहेको अवस्थामा कनेक्ट गरे पनि बललाई प्रहार गर्न सकेनन्।
१९औं मिनेटमा अली फसिरले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई गोलरक्षक किरण चेम्जोङले सहजै बचाए। २३औं मिनेटमा अन्जन विष्टको क्रसमा नवयुगको हेडर गोलरक्षक फैसलले बिफल पारे।
२८औं मिनेटमा अली फसीरको हेडर पोस्टभन्दा माथिबाट बाहिरिएको थियो। ३३औं मिनेटमा अली अश्फाकले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक किरणले सहजै बचाए।
दोस्रो हाफको सुरुवातमा नै तेज तामाङले लामो दुरीबाट गरेको प्रहारलाई गोलरक्षक फैसलले सहजै बचाए। ५९औं मिनेटमा फ्रिकिकमा सामोह अलीको ६ यार्ड बक्सनजिकको हेडरलाई गोलरक्षक किरणले सुन्दर बचाउ गर्दै खतरा टारे।
७६औं मिनेटमा किरणले अली फसीरको ६ यार्ड बक्सनजिकको प्रहार बिफल परेका थिए। ८६औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मनिषले काउन्टर अट्याकमा बललाई अगाडि बढाउँदै तीन डिफेन्डरलाई छक्काएर वन भर्सेस वनको स्थितिमा गोल गरे।
मनिष दोस्रो हाफको ६९औं मिनेटमा नवयुगको स्थानमा मैदान प्रवेश गरेका थिए। नेपाल पछिल्लो संस्करणमा माल्दिभ्ससँग सेमिफाइनलमा ३-० ले पराजित भएको थियो। जितसँगै नेपालले ३ अंक जोडेको छ।
राउन्ड रोबिन पद्दतिमा जारी प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेल सोमबार राति ९:४५ बजे श्रीलंकासँग खेल्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।