काठमाडौं– जनता समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पूर्व माओवादीहरु एक ठाउँमा आउने विषय 'भावनात्मक कुरा' मात्रै भएको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित कवि दिलीपकुमार श्रेष्ठको ‘सपनाको पाण्डुलिपि’ गीतिसंग्रह विमोचन कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले विभिन्न समयमा विभाजित भएका माओवादीहरु एक ठाउँमा आउनुपर्ने (एकीकृत हुनुपर्ने) प्रस्ताव गरेका थिए। आत्मसमीक्षासहित पूर्व माओवादीहरु एकजुट हुनुपर्ने प्रचण्डको प्रस्ताव थियो।
तर, तत्कालीन माओवादीका वरिष्ठ नेता भट्टराईले भने पूर्व माओवादीहरु एक ठाउँमा आउने भन्ने विषय भावनात्मक कुरा मात्रै भएको जवाफ दिए। पूर्व माओवादी एकठाउँमा आउने भन्दापनि नयाँ विचार र संगठनको आवश्यकता रहेको भट्टराईको भनाइ छ।
भट्टराईले पूर्व माओवादीहरु एकै ठाउँमा आउने नभइ नयाँ ठाउँमा आवद्ध हुनुपर्ने टिप्पणी गरे। ‘भावनाको हदसम्म साथीहरुले भनेको कुरा सही छ, तर त्यो भावनालाई ज्ञान र विज्ञानमा पनि त परिणत गर्नुपर्यो । विवेकसँग ज्ञानमा पनि बदल्नुपर्यो । त्यो भनेको नयाँ विचार हो । नयाँ विचार सँगसँगै पार्टीको पनि नयाँ संगठन, नयाँ ढाँचा हो,' भट्टराईले भने।
अहिले नयाँ जनसंख्या आइसकेको अवस्थामा हिजोकाले मात्रै 'गला मिलाउँछौं' भनेर नहुने भट्टराईको भनाइ छ। 'हामी मात्रै भएर पनि त पुग्दैन। नयाँ जनसंख्या आयो, तिनलाई समेट्नु परेन? हामीले हिजोका मात्रै गला मिलाएर बस्छौं भनेर हुन्छ?' भट्टराईले भने, 'सही विचार, नीति, कार्यक्रम र योजनाको आधारमा फेरी नयाँ ढंगले चाहीँ हामी अगाडी बढौं।'
पूर्व माओवादीहरु नयाँ नयाँ ठाउँमा गए देशकै लागि मात्र नभइ विश्व मानव जातिकै निम्ति योगदान गर्न सकिने भट्टराईको भनाइ छ। 'सबै पूर्व माओवादी एकै ठाउँ आउँ भन्ने होइन, सबै पूर्व माओवादीहरु नयाँ नयाँ ठाउँमा जाउँ भन्नुपर्यो क्या! नयाँ ठाउँमा गएपछि त्यसले चाहिँ यो देशको मात्रै होइन, विश्व मानव जातिकै निम्ति योगदान गर्न सक्छ,’ भट्टराईले भने।
भट्टराईले केपी ओलीले गरेको प्रतिगमन परास्त भए पनि प्रतिगमनको नयाँ संस्करण आउनसक्ने पनि बताए। 'अर्लि इलेक्शन'को नाममा पुनः कांग्रेस र एमालेलाई अगाडि ल्याउने र माओवादीलगायतका मधेस, जनजाति आन्दोलनबाट आएको उपलब्धीलाई उल्ट्याउने प्रयत्न भइरहेको भट्टराईले बताएश्र
‘प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु । दोस्रो संस्करण नयाँ ढंगले आउँदैछ। अर्लि इलेक्शनको नाममा फेरि उही पुरानै कांग्रेस र ओलीको एमालेलाई अगाडि ल्याउने र बाँकी माओवादी, मधेस आन्दोलन, जनजाति आन्दोलन लगायतको जुन पछिल्ला आन्दोलनको जगमा यो संविधान बन्यो, त्यसलाई संवैधानिक ढंगले संसद भित्रैबाट त्यसलाई उल्ट्याइदिने प्रयत्न दोस्रो संस्करणको रुपमा आउँदैछ,' भट्टराईले भने।
भट्टराईले अग्रगामी शक्तिहरुबीच बहस र छलफल चलाएर फेरि एकै ठाउँमा आउन सम्भव हुने पनि बताए। 'अग्रगामी शक्तिहरु प्रतिगमनका विरुद्ध एक हुने, सहकार्य गर्ने, आवश्यक परे चुनावी तालमेल पनि गर्ने र भोलि गएर बहस, छलफल गरेर फेरि एकै ठाउँमा आउने, यो सम्भव छ,’ भट्टराईले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।